Below Menu
Below Menu

कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब बढीको मागदाबी ! 

कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब बढीको मागदाबी ! 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा समस्याग्रस्त घोषणा गरेका कान्तिपुरसहित तीन सहकारी विरुद्ध साढे ९ अर्ब रुपैयाँ बढीको मागदाबी परेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार समस्याग्रस्त घोषित हाम्रो कषि सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी विरुद्ध ९ अर्ब ६८ करोड ५६ लाख ८३ हजार रुपैयाँ बराबरको मागदावी परेको हो ।

उक्त सहकारी विरुद्ध आठ हजार ७४६ बचतकर्ताले उक्त रकम बराबरको मागदावी गरेका हुन् । 

कार्यालयका अनुसार हाम्रो कषि सहकारी विरुद्ध ५० बचतकर्ताले ७ करोड ७७ लाख ९० हजार १९८ रुपैयाँ बराबरको मागदावी गरेका छन् भने कृषि विकास बहुउद्देश्यीय सहकारी विरुद्ध २ हजार ५३१ बचकर्ताको २ अर्ब ८२ करोड २७ लाख ८७ हजार ७९३ रुपैयाँ बराबरको मागदावी परेको छ । 

त्यस्तै समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी विरुद्ध ६ हजार १६५ बचकर्ताले ६ अर्ब ७८ करोड ५१ लाख ५ हजार ४५४ रुपैयाँ बराबरको मागदावी परेको कार्यालयले जनाएको छ ।

समयमा बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीहरुलाई समस्याग्रस्त घोषणा गरेको थियो । 

मन्त्रालयले माघ १० र ११ गते सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने उक्त संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१) को व्यवस्थाअनुसार सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त घोषणा भएको यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्नेछ । यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो ।

त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । हालसम्म समस्याग्रस्त सहकारीको संख्या २० पुगेको छ ।

२६ अर्ब बढीको अपचलन 

हालसम्म समस्याग्रस्त घोषित २० सहकारीमध्ये १८ सहकारीबाट २६ अर्ब २३ करोड ३८ लाख २४ हजार रुपैयाँ बराबरको रकम अपचलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । उक्त सहकारी विरुद्ध ५३ हजार ४५५ बचकर्ताको मागदावी परेको हो । 

चालु आवमा सरकारले समस्याग्रस्त घोषणा गरेको लालिगुराँस बहुउद्देश्यीय सहकारी र गौतमश्री सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न भनेको छ । 

हालसम्म कार्यालयले एक हजार १०७ बचकर्ताको ५४ करोड ८१ लाख ५८ हजार ३५७ रुपैयाँ बचत फिर्ता गरेको छ । यसका साथै ४ हजार ४३५ बचतकर्ताको २५ अर्ब ६८ करोड ५६ लाख ६५ हजार ७२३ रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।


 

Advertisment

थप समाचार