काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
मंगलबार प्रकाशित सम्पत्ति विवरण अनुसार गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको रहेको विवरण पेश गरेका छन् । लामिछानेले उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाएका छन् । उनको सम्पति आफ्नो नाममा भन्दा पनी श्रीमतीको नाममा बढी रहेको पाइएको छ ।
यस्तै लामिछानेको नाममा ग्लोबल आइएमई बैंकका ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा १ लाख १० हजार रुपैयाँ छ रहेको विवरणमा उल्लेछ । लामिछानेले बुझाएको विवरणअनुसार उनकी श्रीमती निकिता पौडेलको नाममा बुढानिलकण्ठ नगरपालिका ८ काठमाडौंमा ५ आना जग्गामा बनेर घर रहेको उल्लेख छ ।
तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उक्त घरको १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
लामिछानेले श्रीमती र आफ्नो निजी आयबाट ४२ लाख रुपैयाँ पर्ने नेक्सन इभी गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै, लामिछानेले बुझाएको विवरणमा श्रीमती निकिताको नाममा गोपिकृष्ण प्रालि कम्पनीमा २५ प्रतिशत शेयर रहेको र गोपिकृष्ण प्रालिमा नाममा १० रोपनी ८ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
लामिछानेले श्रीमती निकितासँग करिब ८० तोला सुन र १५.२ केजी चाँदीको भाँडाकुडा रहेको उल्लेख गरेका छन् । यसका साथै लामिछानेले बुझाएको विवरणमा श्रीमती निकिताको नाममा रहेका बैंक खातामा ५ लाख ५८ हजार ५११ रुपैयाँ रहेको उल्लेख छ ।
श्रीमतीको नाममा १४ वर्षअघि स्थापना भएको नारी टीभी र ६ वर्षअघि स्थापना भएको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको लामिछानेको सम्पत्ती विवरणमा उल्लेख छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।
एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको शेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ ।
उनीसँग बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै अर्थमन्त्ती वर्षमान पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको विवरणमा उल्लेख छ । एनएमबी बैंक खातामा पुनको ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात रहेको उल्लेख छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सम्पत्ति ९ विगाहाभन्दा बढी जग्गा, २ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन र विभिन्न बैंकमा साढे ३ करोड रुपैयाँको शेयर रहेको छ ।
मन्त्री महासेठले सम्पत्ति विवरणमा आफू र पत्नी जुलिकुमारी महत्तोको नाममा रहेको नगद र चल अचल सम्पत्ति उल्लेख गरेका छन् । महासेठको जनकपुर र काठमाडौंमा घर रहेको छ ।
जनकपुरका ३ कठ्ठा क्षेत्रफलमा फैलिएको साढे २ तले घर रहेको छ । महासेठले २०५५ सालमा खरिद गरेको उक्त घर जुलिकुमारी महत्तोको नाममा रहेको छ । महत्तोकै नाममा ललितपुरमा २ रोपनी १३ अनामा २०५६ सालमा जग्गा अरिद गरर बनाएको साढे २ तले अर्को पनि छ ।
महासेठले श्रीमती महत्तको नाममा धनुषमा ७ विघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामै ३ कठ्ठा जग्गा रहेको छ । महासेठको नाममा १ विघा १५ कठ्ठा जग्गा पनि छ ।
महासेठको जग्गा बिक्री र पैतृक जग्गाको कृषि बालिबाट प्राप्त आम्दानीबाट २ करोड २५ लाख नगद, ४३ तोला सुन, १।५० केजी चाँदी पैतृक तथा उपहारबाट पाएको सम्पत्ति छ । महासेठले श्रीमती जुलीकुमारी महत्तोका नाममा विभिन्न बैंकमा ३ करोड ५५ लाख रुपैयाँ शेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै श्रम मन्त्री डिपी अर्यालको सम्पत्ति विवरणअनुसार ३ करोड मूल्यमा काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा बनेको घर रहेको छ । श्रीमती अम्बिका केसीको नाममा रहेको घर ३ करोड रुपैयाँ खरिद गरिएको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उक्त घर किन्ने स्रोत निजी कमाइ रहेको जनाइएको छ ।
यसबाहेक अर्यालसँग १२ स्थानमा जग्गा जमिन रहेको छ । अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सम्पत्ति ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ ।
श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । यसको प्राप्तिको स्रोत व्यापार भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै उनीसँग सुन १५० तोला, चाँदी १ सय तोला र हिरा १० तोला रहेको छ । यसको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको र यसको स्रोत व्यापार रहेको उल्लेख गरेका छन् ।
त्यस्तै मन्त्री अर्यालसँग ६ वटा संस्थाको सेयर रहेको छ । मेगा बैंकमा १० हजार,विग इन्भेस्टमेन्टमा ३५ हजार,पिपुल इन्भेस्टमेन्टमा ९ हजार,जनसागर सहकारीमा १० हजार, सुवर्णभूमि सहकारीमा १ हजार र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्तामा ६७ लाख मूल्यको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसको स्रोत पनि व्यापार भएको उल्लेख छ ।
त्यस्तै उनले सहकारी र व्यक्तिसँग गरि २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख गरिएको छ । अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।
अर्यालले निजी कमाइबाट ब्याङ्केट, ट्राभल रेमिट्यान्स र ह्याण्डिक्राफ्ट पनि खरिद गरेको उल्लेख गरेका छन् । यी सबै कम्पनी २ करोड २३ लाखमा खरिद गरेको र त्यसको स्रोत निजी कमाइ भएको अर्यालले चैत ६ गते पेस गरेको विववरणमा उल्लेख छ । उनी वर्तमान सरकारका सबैभन्दा धनी मन्त्रीको रुपमा देखिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग नगद ६ करोड ४५ लाख ५४ हजार रुपैयाँ रहेको पाइएको छ । सम्पति विवरणअनुसार काठमाडौंको टोखा निवासी श्रेष्ठसँग १ करोड १५ लाख र ३७ लाख पारिश्रमिक वापतको रकम रहेको उनले उल्लेख गरेकी छन् । बाँकी रकम पनि पारिश्रमिक विहेको सयमा श्रीमानको परिबारबाट प्राप्त भएको उनले उल्लेख उल्लेख गरेकी छन् ।
यसबाहेक श्रेष्ठले आफ्नो पारिश्रमिक रकमबाट काभ्रेको रियाले बिहावरमा ९ लाख ९५ हजार रुपैयाँमा ८ रोपनी ६ आना ३० दाम जग्गा खरिद गरेको सम्पति विवरणमा उल्लेख छ ।
श्रेष्ठसँग ११ तोलाको सुनको गरगहना छ । विहेमा उपहारमा १० तोलाको सुनको गरगहना प्राप्त भएको र बाँकी १ तोला हजुरआमाको शेषपछि प्राप्त भएको उल्लेख गरिएको छ । यस्तै उनीसँग १०० तोलको चाँदीको गहना पनि छ । यो गहनापनि बिहेको समयमा उपहारमा प्राप्त भएको छ ।
उनीसँग बिहेको समयमा उपहारमा प्राप्त भएको १ सेट हिराको सेट र हजुर आमाको शेषपछि हिराको टप एक सेट प्राप्त भएको उल्लेख गरेकी छन् ।
यसैगरी उनीसँग नबिल बैंकमा ७४९ कित्ता शेयर छ । यस्तै विभिन्न ३ वटा निजी कम्पनीमा शेयर पनि छ । सवारी साधनको नाममा २० लाख पर्ने १ थान चारपाग्रे र १ लाख ८५ हजार मूल्य पर्ने १ थान स्कुटर रहेको सम्पति विवरणमा उनले उल्लेख गरेकी छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग ४५ लाख रुपैयाँ नगद रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले मंगलबार सार्वजनिक गरेको सम्पति विवरणमा अनुसार उनको सम्पत्ति जाजरकोटमा ४ रोपनी १३ आना जग्गा रहेको छ । छोरी संगम बस्नेत र श्रीमती सत्या पहाडीको नाममा उक्त जग्गा रहेको उल्लेख छ । यो उनको पैतृक सम्पत्ति हो ।
यसका साथै उनले १० लाख रुपैयाँमा खरिद भएको १२६ वर्गमिटर जग्गा सुर्खेतमा रहेको उल्लेख गरेका छन् । उक्त जग्गा श्रीमतीको दाईजोमा पाएको उल्लेख गरिएको छ । एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा १० लाख रहेको उल्लेख छ भने उनीसँग सुन ५ तोला रहेको छ ।
उनले सम्पत्ति विवरणमा नेकपा माओवादी केन्द्रले दिएको स्करपियो गाडीसमेत रहेको बताएका छन् । उनको श्रीमतीको नाममा ६ लाख रुपैयाँको सेयर रहेको छ ।
Advertisment