काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीदेखि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्था अनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यालयले सार्वजनिक गरेको हो ।
विवरण अनुसार चार मन्त्रीको सहकारीमा बचत र सेयर रहेको छ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको सिनर्जी कोअपरेटिभ लिमिटेडमा १८ लाख ४१ हजार र उनकी श्रीमती सृष्टी सिंहको नाममा २५ लाख रुपैयाँ गरी ४३ लाख ४१ हजार रुपैयाँ बचत छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ ।
त्यस्तै श्रम मन्त्री डोलप्रसाद अर्यालको जनसहकारीमा १ करोड १५ लाख र श्रीमती अम्बिका केसीको सोही सहकारीमा १५ लाख रुपैयाँ छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको सिनर्जी बचत तथा श्रण सहकारी लिमिटेडमा ५० हजार र श्रीमती बसुन्धरा पौडेल अधिकारीको सोही सहकारीमा २ लाख रुपैयाँ बचत छ ।
यसैगरी जनसागर सहकारीमा अर्यालको नाममा १० लाख रुपैयाँको सेयर, श्रीमती केसीको नाममा सुवर्णभूमि सहकारी १ लाख रुपैयाँको सेयर र संयम सहकारीमा २ लाख रुपैयाँ सेयर रहेको छ ।
Advertisment