काठमाडौं : बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यस अवधिमा बोटलर्स नेपाल (तराई) ले २६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३८.०९ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको व्यापार घट्दा नाफामा असर परेको हो । गत वर्ष ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले यस वर्ष ५ अर्ब ८१ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ ।
चैत मसान्तसम्म आइपुग्दा कम्पनीको वित्तीय खर्च घटेको छ भने विभिन्न शीर्षकमा भएको खर्च भने बढेको छ । यस अवधिमा वित्तीय खर्च २० करोड ८० लाख रुपैयाँबाट घटेर २० करोड १२ लाख रुपैयाँमा झरेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३९८ रुपैयाँबाट घटेर २८८ रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ भने ३ हजार ३९७ रुपैयाँ छ ।
चैतसम्म १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ जम्मा छ ।
त्यस्तै बोटलर्स नेपाल (बालाजु) ले चालु आवको चैत मसान्तसम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको व्यापार घट्नुका साथै वित्तीय खर्च बढेका कारण पनि नाफा घटेको हो । गत वर्षक ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँको व्यापार गरेको कम्पनीले यस अवधिमा ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँको व्यापार गरेको छ ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च १४ करोड १९ लाख रुपैयाँबाट बढेर २३ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७५ रुपैयाँबाट घटेर २४ रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ भने ३ हजार २२९ रुपैयाँ छ ।
चैत मसान्तसम्म १९ करोड ४८ लाख ८९ हजार चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ जम्मा छ ।
Advertisment