काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको दश महिनामा मात्र नेपालले नेपालले साढे ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
नेपालले हरेक वर्ष वैदेशिक व्यापारमा ठूलो घाटा व्यहोर्दै आइरहेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ लाख रुपैयाँ रहेको छ ।
दश महिनामा नेपालले १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरकेो छ भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लारुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।
नेपालले वैदेशिक व्यापार गर्ने अधिकांश साझेदार मुलुकसँग नेपालको व्यापार घाटामा रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार बैशाख मसान्तसम्म नेपालले विश्वका १६८ वटा मुलुकसँग व्यापार गरेको छ । जसमध्ये १३६ वटा देशसँग नेपालको व्यापार घाटामा छ भने बाँकी ३२ देशसँगको व्यापारमा भने नेपालले नाफा गर्दै आइरहेको छ ।
विभागका अनुसार ३२ देशसँगको व्यापार नाफा पनि न्यून मात्रामा रहेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित बनाएका योजनामा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) समेत सञ्चालनमा ल्याइएको छ । तर, यो रणनीतिमा समेटिएका वस्तुको निर्यात झन् घटिरहेको छ ।
विभागका अनुसार चालु आवको बैशाख मसान्तसम्म सबैभन्दाबढी व्यापार घाटा व्यहोरेका मुलुकमा भारत र चीन रहेका छन् । दश महिनामा नेपालले भारतसँग ७ खर्ब २९ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै यस अवधिमा चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै अवधिमा नेपालले क्यानडासँगको वैदेशिक व्यापारमा ६ अर्ब ३० करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ भने अष्टेलियासँग १० अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापर घाटा व्यहोरेको छ ।
विभागका अनुसार दश महिनामा अर्जेन्टिनासँग ८ अर्ब ५३ करोड ३४ लाख, कोरियासँग ५ अर्ब ५० करोड ६७ लाख, मलेसियासँग १५ अर्ब ११ करोड ३७ लाख, ओमानसँग ५ अर्ब २७ करोड २६ लाख, कतारसँग ३ अर्ब ५४ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहारेको छ ।
त्यस्तै यस अवधिमा नेपालले वैदेशिक व्यापारमा साउदी अरबसँग ५ अर्ब ९१ करोड ५३ लाख, सिंगापुरसँग ४ अर्ब ९४ करोड २९ लाख, थाइल्याण्डसँग ७ अर्ब २६ करोड ७९ लाख, युक्रेनसँग १५ अर्ब ८४ करोड, युनाइेड साउदी इमिरेट्सँग २४ अर्ब ३० करोड ७८ लाख, भियतनामसँग ४ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
यस अवधिमा विश्वमा १६८ देशसँगको व्यापारमा ३२ वटा देशसँगको व्यापार मात्र नाफामा छ । जसमा उरुग्वे, सुडान, सिरिया लेन, सेचेलेस, पानामा, नर्वे, न्यु कोलेडोनिया, मौरिसस, मौरिसिनिया, ल्याटभिया, काजकिस्तान, आइसल्याण्ड, जर्जिया, डोमिनिका, डेनमार्क, क्रोयसिया, अफगानिस्तान नामिबिया लगायतका देश छन् ।
Advertisment