Below Menu
Below Menu

सहकारी ठगीविरुद्ध आजदेखि सडकमा नेपाली कांग्रेस, उपत्यकाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन

सहकारी ठगीविरुद्ध आजदेखि सडकमा नेपाली कांग्रेस, उपत्यकाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन

काठमाडौं : आजदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडक आन्दोलन सुरु गर्दैछ । लाखौँ नेपाली जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थाल्न लागेको हो । 

आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्न लागिएको हो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

१५ निर्वाचन क्षेत्रबाट भेला भएर भृकुटीमण्डपमा वृहत कार्यक्रम गरिने कांग्रेसले जनाएको छ । भृकुटीमण्डपमा दिउँसो १ बजे भेला हुने जनाइएको छ । कांग्रेसको गत बुधबार बसेको केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठकले आजदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको थियो । 

कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको हो । 

कांग्रेसले फागुनदेखि संसदमासमेत सहकारीको विषय उठाएर छानबिनको माग गर्दै आएको छ । छानबिन समिति बनाए पनि व्यक्तिको नाम नतोकी गर्नुपर्नेमा सत्ता गठबन्धनको जोड छ । 

कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ । 

हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएकोसमेत उल्लेख गरेको छ ।

Advertisment

थप समाचार