काठमाडौं : मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका छन् । सहज अवस्थामा मिलेर लाभ लिने र अप्ठेरो पर्दा उनिहरु एकअर्काविरुद्ध आरोप/प्रत्यारोपमा उत्रिएका हुन् ।
बचत रकम समयमै फिर्ता गर्न नसकेपछि सदस्यहरुले बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा उजुरी दिएका थिए । उजुरीपछि मन्त्रालयले काठमाडौंस्थित प्रहरी परिसरलाई अनुसन्धान एवं कारबाहीको लागि पठाएको थियो । परिसरले अनुसन्धानको जिम्मा बौद्ध प्रहरी वृत्तलाई दिएको थियो ।
सदस्यको जाहेरीपछि प्रहरीले १ जेठमा संस्था सञ्चालक समिति सचिव एवं प्रमुख कार्यकारी अधिकृत ईन्द्रप्रसाद गेलाल, उपाध्यक्ष वासुदेव भट्ट र सञ्चालक शरदकुमार अधिकारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । केही दिनपछिलेखा सुपरीवेक्षण समिति संयोजक उमाकान्त न्यौपानेलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेकाहरु मध्ये सञ्चालक शरदकुमार अधिकारी ७ लाख धरौटीमा छुटेका छन् भने अन्य तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालत काठमाडौंले दिएको छ ।
अधिकारी बुधबार (जेठ ३० गते) धरौटीमा छुटे लगत्तै बालाजु प्रहरी वृतले पक्राउ गरेको छ । सदस्यहरुले बालाजु प्रहरीमा समेत उजुरी गरेका थिए । अधिकारीले दोष जति संस्थाका अन्य सञ्चालकहरुलाई लगाई आफू उम्किन खोजेका थिए । पेशाले मेनपावर व्यवसायी रहेका अधिकारी निलरत्न बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पनि हुन् ।
सहज अवस्थामा मेगा ड्रिमबाट थुप्रै लाभ लिएका अधिकारी अप्ठेरो अवस्थामा भने उम्किन खोजेको अन्य सञ्चालक तथा सदस्यहरुले आरोप लगाएका छन् । एउटै मुद्दामा अधिकारी छुट्ने र अन्य थुनामा जाने वातावरण तयार हुनुलाई सदस्यहरुले शंकाको दृष्टिले हेरेका छन् ।
पक्राउ परेका व्यक्तिहरुले पनि आफ्नो बयानमा एकअर्काविरुद्ध आरोप/प्रत्यारोप गरेका छन् । सहकारीमा एकल निर्णय असम्भव रहन्छ । भएका कमीकमजोरीको जिम्मेवार सबै सञ्चालकहरुको हुन्छ । तर, दोष अरुलाई थुपरेर आफू उम्किन खोज्नु गतल भएको सदस्यहरुको आरोप छ । सञ्चालक अधिकारीले संस्थाको मुद्दा कमजोर बनाएर आफू उम्किन खोजेको समेत सदस्यहरुले आरोप लगाएका छन् ।
संस्थाका अध्यक्ष महाशंकर रेग्मी, कोषाध्यक्ष रविनकुमार कार्की, सदस्य शेखर बस्नेत, सदस्य राजकुमार श्रेष्ठ भने सम्पर्क विहिन छन्।
Advertisment