काठमाडौं : सात वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए ।
सातै प्रदेशका अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार आ–आफ्नो प्रदेश सभाको बैठकमा कूल २ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।
सात प्रदेशमध्ये बागमतीले सबैभन्दा ठुलो र कर्णालीले सबैभन्दा सानो आकारको बजेट ल्याएका छन् । बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश सभामा आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
यसैगरी कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । जुन, सात प्रदेशमध्ये सबैभन्दा कम हो ।
यसैगरी मधेस प्रदेशका भरतप्रसाद शाहले आगामी वर्षका लागि ४३ अर्ब ८९ करोड रुपैयाँको बजेट घोषणा गरेका हुन् । लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरे ।
कोसीका अर्थमन्त्री रामबहादुर मगर आगामी आवका लागि ३५ अर्ब २७ करोड रुपैयाँको, गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङले ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरको छन् ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशले कर्णालीको भन्दा २१ करोड रुपैयाँले बढी आकारको बजेट ल्याएको छ । सुदूरपश्चिमका अर्थमन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेशले आगामी वर्षको आय–व्ययको अनुमान सुनाएका हुन् । प्रदेशले आगामी वर्षका लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ ।
नेपालको संविधान, २०७२ को व्यवस्थाअनुसार जेठ १५ गते संघीय सरकारले र असार १ गते प्रदेश सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्नेछ । यस्तै स्थानीय तहले असार १० गतेसम्ममा आगामी वर्षको बजेट ल्याउनु पर्छ ।
आगामी आवको बजेट
बागमती – ६४ अर्ब ५४ करोड
मधेस – ४३ अर्ब ८९ करोड
लुम्बिनी – ३८ अर्ब ९७ करोड
कोसी – ३५ अर्ब २७ करोड
गण्डकीले – ३२ अर्ब ९७ करोड
सुदूरपश्चिम – ३१ अर्ब ६२ करोड
कर्णाली – ३१ अर्ब ४१ करोड
चालु आवको बजेट
वाग्मती प्रदेश– ६२ अर्ब ७० करोड
मधेस प्रदेश– ४४ अर्ब ११ करोड
कोशी प्रदेश– ३६ अर्ब २४ करोड
लुम्बिनी प्रदेश–४० अर्ब ४७ करोड
गण्डकी प्रदेश– ३३ अर्ब ४२ करोड
सुदूरपश्चिम प्रदेश–२९ अर्ब २६ करोड
पाँच प्रदेशको बजेट घट्यो
अधिकांश प्रदेश सरकारले आगामी आवका लागि बजेटको आकार घटाएका छन् । चालु आवको तुलनामा आगामी वर्षका लागि आकार घटाएर बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षका लागि बजेट नघटाउनेमा बागमती र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
बजेटको आकार घटाउने प्रदेशहरूमा मधेस, लुम्बिनी, कोसी, गण्डकी र कर्णाली छन् । यी सबै प्रदेशले चालू वर्षको तुलनामा आगामी वर्षका लागि बजेटको आकार खुम्च्याएका छन् ।
प्रदेश सरकारहरूले स्रोतको अभाव, कार्यान्वयनमा चुनौती लगायतका कारणले बजेटको आकार घटाउँदै लगेका हुन् । प्रदेश सरकारले बजेट आन्तरिक स्रोतको समेत अभाव झेल्दै आइरहेका छन् । सोही कारण, बजेटको आकार नै खुम्चिएको हो ।
Advertisment