काठमाडौं : सरकारले एघार महिनामा करिब साढे दुई खर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मुलुकले दुई खर्ब ३६ अर्ब ७४ करोड ७७ लाख बराबर बजेट घाटा व्यहोरेको हो ।
यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा सरकारी खर्च निरन्तर बढ्दा वित्त व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार जेठमा वार्षिक लक्ष्यको ६४.१६ प्रतिशत आम्दानी र ६७.४६ प्रतिशत खर्च भएको छ ।
चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्ममा ९ खर्ब ४४ अर्ब ६९ करोड ९२ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ६४.१६ प्रतिशत बराबर हो ।
यस अवधिमा कर राजश्वतर्फ ६४.६२ प्रतिशत अर्थात् ९ खर्ब १९ अर्ब २८ करोड ८२ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ६३.५१ प्रतिशत अर्थात् आठ खर्ब २९ अर्ब १२ करोड ८९ लाख बराबर असुली भएको छ ।
चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।
चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ११ खर्ब ८१ अर्ब ४४ करोड ६९ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ६७.४६ प्रतिशत बराबर हो ।
चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ६५.९१ प्रतिशत अर्थात् आठ खर्ब २२ अर्ब ९५ करोड ८९ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ७२.०८ प्रतिशत हो ।
त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा ४४.६८ प्रतिशत अर्थात् एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख बराबर खर्च भएको छ ।
वित्तीय व्यवस्थापनमा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ७२.७ प्रतिशत अर्थात् दुई खर्ब २३ अर्ब ५० करोड ८८ लाख बराबर खर्च भएको छ ।
Advertisment