काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब बढीको व्यापार गरेका छन् । पछिल्लो समय कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय सवा १२ अर्ब रुपैयाँले बढेको देखिएको छ । गत बैंशाख मसान्तको तुलनामा जेठमा कम्पनीहरुको व्यवसाय १२ अर्ब २९ करोड ७१ लाख रुपैयाँले बढेको हो ।
जेठ मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ४० लाख ८९ हजार ६२२ बीमालेख बिक्री गरी एक खर्ब ३३ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार जेठ मसान्तसम्म यस कम्पनीले १३ लाख ९८ हजार ९१२ बीमालेख बिक्री गरी ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
यस अवधिमा अन्य तीन कम्पनीको पनि व्यापार बढेको छ । जेठ मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सले १६ लाख ४ हजार ९९५ बीमा लेख जारी गरी १५ अर्ब ९८ करोड तीन लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) ले पनि यस अवधिमा ६ लाख ८४ हजार २४ बीमालेख बिक्री गरी १५ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बीमाशु्ल्क उठाएको छ भने हिमालयन लाइफले ३ लाख ९३ हजार ५७९ बीमालेख जारी गरी १४ अर्ब ६४ करोड रुपैयाँ उठाएको छ ।
यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ५ लाख ६६ हजार ४८ बीमालेख बिक्री गरी ५ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै चालु आवको जेठ मसान्तसम्म मेट लाइफले ८ लाख ७९ हजार ७२५ बीमालेख जारी गरी ५ अर्ब ८ करोड ४१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, यस अवधिमा एशियन लाइफले ७ अर्ब २ करोड ६२ लाख, आईएमई लाइफले चार अर्ब ४ करोड ७८ लाख रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ३९ करोड २१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले तीन अर्ब ६९ करोड ४१ लाख बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा अधिकांश बीमा कम्पनीहरुको व्यापार बढेको छ । यस अवधिमा सिटिजन लाइफले पनि १२ करोड ४ हजार १०३ बीमालेख जारी गरी ५ अर्ब २९ करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
यस अवधिमा सूर्यज्योति लाइफले आठ अर्ब ९८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले पाँच अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ७१ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
लघुबीमाको व्यापार १३ करोड माथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । जेठ मसान्तसम्म कम्पनीहरुले ७७ हजार ३२० बीमालेख जारी गरी १३ करोड २७ लाख ९९ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले २० हजार ८८९ बीमालेख जारी गरी तीन करोड २९ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले ४९ हजार ३१ बीमालेख जारी गरी सात करोड ८९ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले दुई करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment