काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको ऋण एक खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो आवमा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको यस्तो ऋण थपिएर २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।
कार्यालयका अनुसार गत जेठ मसान्तको तुलनामा असारमा ३२ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.६५ प्रतिशत हुन आएको छ ।
यस अवधिसम्म सरकारले तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ५३ अर्ब १३ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
एक वर्षमा सरकारले लिएको कुल सार्वजनिक ऋण ३ खर्ब ५८ अर्ब २ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण एक खर्ब २३ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
सरकारले गत वर्ष सार्वजनिक ऋण भुक्तानी गर्न मात्रै ३ खर्ब ३० अर्ब रुपैयाँ बार्षिक वजेट विनियोजन गरेको थियो । यस अवधिमा सरकारले सावाँ र ब्याज वापतको तीन खर्ब ५ अर्ब ३७ करोड ७१ लाख रूपैयाँ भुक्तानी गरेको छ । कुल ग्राहस्थ उत्पादनका आधारमा कुल ऋण सेवा खर्च ५.३५ प्रतिशत हो ।
सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत २ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिक तर्फको एक खर्ब ८२ अर्ब ६२ करोड र बाह्य तर्फको ४० अर्ब ७२ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।
कार्यालयका अनुसार यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको ब्याज वापत ८२ अर्ब ३ करोड रुपैयाँ भुक्तानी गरेको छ । जसमा आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ७२ अर्ब ७६ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ९ अर्ब २६ करोड रूपैयाँ खर्च भएको छ ।
Advertisment