काठमाडौं : आर्थिक शिथिलताका बाबजुद पनि बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ । एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार सवा एक अर्बले बढेको देखिएको छ ।
आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका छन् । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीहरुले ४१ अर्ब रुपैयाँ भन्दाबढीको बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले २९ लाख ७७ हजार ११६ बीमालेख बिक्री गरी ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ३.११ प्रतिशत अर्थात एक अर्ब २५ करोड ४० लाख रुपैयाँले बढेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ बीमालेख जारी गरी ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
शिखर इन्स्योेरेन्सको व्यवसाय ५ अर्ब माथि
प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक वर्षको अवधिमा ३ लाख १७ हजार १५७ बीमालेख जारी गरी ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५ करोड ४१ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष कम्पनीले २ लाख ९८ हजार ६६ बीमालेख जारी गरी ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो ।
अन्य कम्पनीको व्यवसाय कस्तो
गत असार मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले २ लाख २ हजार ३५१ बीमालेख बिक्री गरी एक अर्ब ५९ करोड ३ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले एक अर्ब १९ करोड ८७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले तीन अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब ७७ करोड ७९ लाख, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड २७ लाख, हिमालयन एभरेष्टले ३ अर्ब ७२ करोड २९ लाख र सानिमा जिआइसीले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
प्राधिकरणका अनुसार गत असार मसान्तसम्ममा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स २ लाख ८६ हजार ३६७ बीमालेख जारी गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने आईजीआई प्रुडेन्सियलले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
तीन कम्पनीको व्यवसाय घट्यो
प्राधिकरणका अनुसार यस अवधिमा अधिकांश बीमा कम्पनीहरुको व्यवसाय बढेको छ भने तीन कम्पनीको व्यवसाय भने खस्किएको छ ।
असार मसान्तसम्म आइपुग्दा सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी, सद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरन्सको व्यवसाय घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आवमा २ अर्ब ३१ करोड ७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको राष्ट्रिय बीमा कम्पनीले गत आवमा एक अर्ब ५९ करोड ४० लाखको व्यवसाय गरेको हो ।
त्यस्तै, यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय पनि घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ४२ करोड ६८ लाख रुपैयाँको व्यवसाय गरेको कम्पनीले यस अवधिमा ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको व्यवसाय गरकेो हो ।
अघिल्लो वर्ष ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको युनाइटेड अजोडले गत आवमा २ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
लघुबीमाको व्यापार झण्डै साढे २९ करोड
असार मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले झण्डै साढे २९ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक लाख २७ हजार १८२ बीमालेख जारी गरी २९ करोड ४८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले १० करोड ३१ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९ करोड, स्टार माइक्रो इन्स्योरेन्सले ६ करोड ८७ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले तीन करोड २७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।
Advertisment