Below Menu
Below Menu

१७ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, अर्बौँ लगानी जोखिममा 

१७ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, अर्बौँ लगानी जोखिममा 

काठमाडौं : बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो ।

गत आर्थिक वर्षका असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १७.७० प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्म बैंकहरुको खराब कर्जा औषतमा ३.५४ प्रतिशतले बढेको हो । 

आव २०८०/८१ को असार मसान्तसम्म आइपुग्दा १३ वटा बैंकहरुको खराब कर्जा बढेको छ भने सात बैंकको खराब कर्जा बढेको छ । यस अवधिमा एनआईसी एशिया बैंकको खराब कर्जा सर्वाधिक बढेको छ ।

अघिल्लो आवमा ०.८८ प्रतिशत रहेको एनआईसी एशियाको खराब कर्जा २.५३ प्रतिशतले बढेर ३.४१ प्रतिशत पुगेको छ । 

त्यस्तै यस अवधिमा ग्लोबल आईइमई बैंक, प्राइम कमर्सियल, कुमारी, प्रभु, लक्ष्मी सनराइज, हिमालयन बैंक, सिटिजन इन्टरनेशनल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि रहेको छ ।

असार मसान्तसम्म आइपुग्दा एभरेष्ट बैंक, नेपाल एसबीआई, राष्ट्रिय वाण्ज्यि बैंक, हिमालयन, प्रभु, कुमारी र प्राइम कमर्सियल बैंकले भने खराब कर्जा घटाएका छन् । 

नाफामा असर 

बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दा त्यसको प्रभाव बैंकहरुको वित्तीय रिपोर्ट (ब्यालेन्स सिट) मा परेको छ । आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट अनुसार यस अवधिमा बैंकहरुले ६४ अर्ब बढी नाफा कमाएका छन् । 

तर, सञ्चालनमा रहेका २० बैंकहरुमध्ये आधा बैंकहरुको नाफा भने घटेको छ । बैंकहरुको खराब कर्जा बढ्दा नाफाको अधिक प्रतिशत वित्तीय व्यवस्थापन (प्रोभिजन) मा जाँदा नाफा घट्न पुगेको हो ।

करिब सात अर्ब लगानी जोखिममा 

आर्थिक शिथिलताका कारण पछिल्लो समय कर्जाको माग घटेको छ भने यसअघिनै गरेको लगानी समेत उठ्न नसकेपछि बैंकहरु थप समस्यामा परेका  छन् । 

यता लगानी उठ्न छाडेपछि बैंकहरुले फसेको पैसा उठाइदिन ऋण असुली न्यायाधीकरणसँग हारगुहार गर्न थालेका छन् ।

न्यायाधीकरणको तथ्यांक हेर्ने हो भने असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका ४८० वटा मुद्दा परेका छन् । यस अवधिमा ६ अर्ब ८९ करोड २३ लाख ७७ हजार रुपैयाँ बराबरको मागदाबीसहित उक्त संख्यामा मुद्दा परेको हो ।

यस अवधिमा परेका मुद्दामा एनआईसी एशिया बैंकका सर्वाधिक मुद्दा परेका छन् । न्यायाधीकरणका अनुसार बैंकले एक अर्ब ३२ करोड ७३ लाख रुपैयाँ बराबरको मागदाबीसहित ११८ वटा मुद्दा दायर गरेको छ ।


 

Advertisment

थप समाचार