Below Menu
Below Menu

सवा एक लाख बीमितले त्यागे साढे १४ अर्बका पोलिसी !

सवा एक लाख बीमितले त्यागे साढे १४ अर्बका पोलिसी !

काठमाडौं : एक वर्षको अवधिमा साढे १४ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको एक लाख ४ हजार ५०६ बीमालेख सरेन्डर भएका हुन् । 

प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा यस अवधिमा साढे २२ करोड रुपैयाँ बढीको पोलिसी सरेन्डर भएका हुन् । आव २०७९/८० मा विभिन्न कम्पनीका एक लाख ४ हजार ५०६ बीमितले १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका थिए ।

आर्थिक मन्दीका कारण बीमा पोलिसी त्याग्नेहरुको संख्या बढेको बीमा कम्पनीको भनाई छ । यसका साथै अभिकर्ताहरुले बीमितको क्षमता भन्दा बढीको बीमा गराएका कारण प्रिमियम तिर्न नसकेर पोलिसी त्याग्ने गरेको बीमा विज्ञहरु बताउँछन् ।

तीन कम्पनीका पोलिसी सरेन्डर गर्नेहरु घटे

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमा पोलिसी सरेन्डर गर्नेहरु घटेका छन् । गत असार मसान्तसम्म २८ हजार ६२७ बीमितले ४ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । उक्त रकम अघिल्लो आवको तुलनामा ७.८२ प्रतिशत अर्थात ३७ करोड ४६ लाख रुपैयाँले कम हो । आव २०७९/८० मा नेपाल लाइफका ३२ हजार १२६ बीमतिले ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय बीमा कम्पनीको बीमालेख त्याग्ने बीमितको संख्या र रकम दुबै घटेको छ ।अघिल्लो आवमा १४ हजार ४११ बीमितले एक अर्ब १७ करोड ४२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए भने गत असार मसान्तसम्म १३ हजार ९४१ बीमितले एक अर्ब १० करोड ४८ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् । 

त्यस्तै, गत आवमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको एक अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको सात हजार ५०० बीमालेख सरेन्डर भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको सरेन्डर रकम ४२ अर्ब ४२ करोडले कम हो । प्राधिकरणका अनुसार अघिल्लो आवमा कम्पनीका ९ हजार ९ बीमितले एक अर्ब ४४ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका थिए ।

कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी?

यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका ३० हजार ३०९ बीमितले ४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । अघिल्लो वर्ष २० हजार १८० बीमितले ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका थिए । 

त्यसैगरी असार मसान्तसम्म मेट लाइफका ४ हजार १०३ बीमितले ४३ करोड २८ लाख रुपैयाँ बराबरको बीमालेख त्यागेका छन् । अघिल्लो आवमा कम्पनीको ४२ करोड ७२ लाख रुपैयाँ बराबरको ४ हजार ४५६ बीमालेख सरेन्डर भएको थियो । कम्पनीको बीमालेख त्याग्ने बीमित बढेपनि रकम भने घटेको छ । 

त्यसैगरी असार मसान्तसम्म गत असार मसान्तसम्म एशियन लाइफ इन्स्योेरेन्सको ५५ करोड ६३ लाख रुपैयाँ बराबरको सात हजार १७१ वटा बीमालेख सरेन्डर भएका छन् । यस अवधिमा कम्पनीको पोेलिसी त्याग्नेको संख्या ९ प्रतिशतले बढेको छ भने सरेन्डर रकम १२.६३ प्रतिशतले बढको छ । 

यस अवधिमा आईएमई लाइफका एक हजार ४२५ बीमितले १३ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् । यस अवधिमा उक्त कम्पनीको बीमालेख त्याग्नेको संख्या ३३.०५ प्रतिशतले बढेको छ भने पोलिसी रकम ३३.०१ प्रतिशतले बढेको छ । 

रकम रु लाखमा

स्रोतः नेपाल बीमा प्राधिकरण 

प्राधिकरणका अनुसार असार मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सका ६ करोड ६२ लाख रुपैयाँ बरारबको ६८२ वटा पोलिसी सरेन्डर भएका छन् भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ४ लाख रुपैयाँ बराबरको एक हजार ४७४ बीमालेख सरेन्डर भएका छन् । 

यस अवधिमा सिटिजन लाइफका २ हजार ६५१ बीमितले १७ करोड ३घ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमालेख र रकम दुबै बढेको छ । 

प्राधिकरणका अनुसार गत आवमा सूर्यज्योति लाइफका ५ हजार २७४ बीमितले ७१ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । कम्पनीको पोलिसी त्याग्ने बीमित बढेपनि रकम भने घटेको छ । 

सानिमा लाइफ कम्पनीको बीमा लेख सरेन्डर गर्नेहरुको संख्या र सरेन्डर रकम दुबै बढेको छ  । यस अवधिमा कम्पनीको २४ करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको ३१.८८ प्रतिशत बढी रकमको पोलिसी सरेन्डर भएको हो ।

त्यस्तै, यस अवधिमा हिमालयन लाइफको एक अर्ब २ करोड ९५  लाख रुपैयाँ बराबरको ७ हजार ८१० बीमा पोलिसी सरेन्डर भएका छन् भने प्रभु लाइफको २१ करोड २६ लाख रुपैयाँ बराबरको एक हजार २८१ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार