काठमाडौं : पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीको असर समग्र बैंकिङ प्रणालीमा परेको छ । बजारमा ऋणको मागमा आएको संकुचनका कारण बैंकहरुको लगानी ठप्प जस्तै छ ।
लगानीको वातावरण बन्न नसक्दा बैंकहरुमा पैसा थुप्रिएर बसेको छ । केही महिना यता बैंकको ब्याजदर निरन्तर रुपमा घटेपनि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्न सकेको छैन । आर्थिक गतिविधि सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएर बसेको छ ।
कुनै समय तरलताको अभाव झेलिरहेका बैैक तथा वित्तीय संस्थाहरु अहिले लगानी गर्न नसकेर खुम्चिएर बसेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
कुन बैंकसँग कति छ लगानी योग्य रकम ?
हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकसँग लगानीयोग्य पुँजी धेरै रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंकको सिडि रेसियो ६०.३९ प्रतिशत रहेको छ ।
त्यस्तै असार मसान्तसम्मको तथ्यांक अनुसार ग्लोबल आईएमई बैंक, एनआईसी एशिया, प्रभु बैंक, लक्ष्मी सनराइज, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई र कृषि विकास बैंकको सिडि रेसियो ८० प्रतिशत भन्दा कम रहेको छ ।
त्यस्तै ८० प्रतिशत भन्दा माथि सिडि रेसियो भएका बैकहरु ११ वटा रहेका छन् । जसमा नबिल बैंकको सिडि रेसियो ८३.६० प्रतिशत, प्राइम कर्मसियलको ८६.२० प्रतिशत, कुमारी बैंकको ८२.९३ प्रतिशत, हिमालयनको ८३.७८ प्रतिशत र सिटिजन इन्टरनेशल बैंकको ८४.०७ प्रतिशत रहेको छ ।
यस्तो छ बैंकको निक्षेपको अवस्था
राष्ट्र बैंकको तथ्याङक अनुसार गत असार मसान्तसम्म बैंकहरुमा ५७ खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा बैंकहरुले ४५ खर्ब ६९ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यस अवधिमा सबैभन्दा बढी निक्षेप ग्लोबल आईएमई बैंकको रहेको छ भने सबैभन्दा कम निक्षेप स्ट्याण्डर्ड चार्टडर्ड बैंकको रहेको छ ।
राष्ट्र बैंकको तथ्याङक अनुसार यस अवधिमा ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब ४ अर्ब ८९ करोड रुपैयाँ, नबिल बैंकको ४ खर्ब ६८ अर्ब ७६ करोड, राष्ट्रिय वाणिज्य बैंकको ४ खर्ब ३० अर्ब ७१ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाको ४ खर्ब ६ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ ।
त्यसैगरी एनआइसी एशिया बैंकको निक्षेप ३ खर्ब ६० अर्ब ३३ करोड रुपैयाँ, कुमारी बैंकको ३ खर्ब ५० अर्ब ७५ करोड, प्रभु बैंकको ३ खर्ब १२ अर्ब २२ करोड र लक्ष्मी सनराइजको ३ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ निक्षेप रहेको तथ्यांकमा उल्लेख छ ।
Sponsored Advertisment
Advertisment