काठमाडौं : कृषि तथा पशुपन्छी मन्त्रालयले बाली तथा पशुपन्छी बीमाशुल्क अनुदानसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ कार्यविधि प्रकाशित गरेको हो ।
उक्त कार्यविधिमा सरकारले बीमांक रकमका आधारमा प्रिमियममा फरक–फरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो कार्यविधि गत असोज १६ गते स्वीकृत भएको थियो ।
जस अनुसार अब सरकारले बाली तथा पशुधन बीमाको प्रिमियममा उपलब्ध गराउने अनुदान फरक–फरक हुने भएको हो । मन्त्रालयले जारी गरेको कार्यविधिअनुसार ५० लाख रुपैयाँसम्मको बाल तथा पशुधन बीमाको प्रिमियममा सरकारले ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउनेछ ।
त्यस्तै ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बीमाको प्रिमियममा ६५ प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउनेछ । यसअघि सबैले ८० प्रतिशत अनुदान पाउने व्यवस्था थियो ।
सरकारले निर्णय गरेबमोजिमको बाली तथा पशुधन बीमाको प्रिमियमबापत अनुदान रकम स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटअनुरुप हुने कार्यविधिमा व्यवस्था गरिएको छ । त्यसका लागि विभिन्न प्रक्रिया अपनाई उपलब्ध गराउनुपर्नेछ र सोही वर्षमा उपलब्ध गराउन बाँकी रहेको रकम आगामी वर्षको बजेटमा प्रस्ताव समावेश गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ ।
उक्त कार्यविधि अनुसार कृषि, मत्स्य तथा पशुपन्छी व्यवसाय गर्ने व्यक्ति वा संस्था (फर्म) वा सामूहिक बीमा गर्नेले प्रिमियममा अनुदान प्राप्त गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त निर्जीवन बीमा कम्पनी वा लघु निर्जीवनन बीमा कम्पनीमा निवेदन दिनुपर्नेछ । प्राप्त निवेदनका आधारमा बाल तथा पशुधनको बीमा सम्बन्धित बीमा कम्पनीले नेपाल सरकारबाट उपलब्ध हुने अनुदानबाहेकको प्रिमियम लिई बीमा गर्नुपर्नेछ।
Advertisment