Below Menu
Below Menu

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो ।

“स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए । 

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको कार्य गरिसकेको छ । किसानबाट गुणस्तरीय धान खरिद गरिने उल्लेख गर्दै शाखा प्रमुख थापाले माटो भएको, भुुस, पराल भएको, भिजेको धान खरिद नगरिने बताए । कम्पनीले किसानको मात्रै धान खरिद गर्ने भएको छ । व्यापारीको धान भने कम्पनीले खरिद नगर्ने जनाएको छ ।

किसानको गुणस्तरीय धान खरिद भए नभएकाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला खरिद समन्वय समितिले अनुगमन गर्नेछ । निर्धारित समर्थन मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा कम्पनीले किसानबाट मोटो धान खरिद गर्नेछ । जिल्लाका तीनवटै ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन (पन्ध्र हजार क्विन्टल) धान खरिद गरिने लक्ष्य राखिएको छ ।

गत वर्ष कम्पनीले दुई हजार नौ सय क्विन्टल धान मात्रै खरिद गरेको थियो । कम्पनीले गत वर्ष निर्धारित लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । लक्ष्य पूरा गर्नका लागि तीन ठाउँमा डिपो राख्नुपरेको बताइएको छ । शाखा कार्यालयले खरिद गरिएको धान कुटानी गरी प्रदेशका माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ ।

कम्पनीका शाखा कार्यालय प्रमुख र सहयोगीसहित तीन कर्मचारी कार्यरत रहेका छन् । थोरै कर्मचारी हुँदा धान खरिद गर्नका लागि चुनौती रहेको छ । कम्पनीले डिपो राखेर धान खरिद गर्ने भएपछि स्थानीय किसानले खुसी व्यक्त गरेका छन् ।

“कम्पनीको धान खरिद डिपो स्थानीय तहमा नहुँदा महेन्द्रनगर बजार पुर्याएर बेच्नसक्ने अवस्था थिएन”, शुक्लाफाँटाका स्थानीय किसान रामकिसन डगौराले भने, “ढुवानी भाडा नै धेरै लाग्ने हुँदा स्थानीय खरिदकर्ता कहाँ थोरै मूल्यमा बिक्री गर्न बाध्य थियौँ ।” डिपोमा लगेर धान बिक्री गरी उचित मूल्य पाउनेमा उनी आशावादी देखिएको छ । स्थानीय व्यापारीले अहिले प्रतिक्विन्टल धान रु दुई हजार तीन सयदेखि रु दुई हजार सात सयसम्ममा खरिद गरिरहेका छन् ।

Advertisment

थप समाचार