Below Menu

साढे १० प्रतिशतले बढ्यो होटलमा बैंकहरुको लगानी !

साढे १० प्रतिशतले बढ्यो होटलमा बैंकहरुको लगानी !

काठमाडौं : बढ्दो पर्यटक आगमनले बैंकहरु उत्साहित देखिएका छन् ।  पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै बैंकहरुले पर्यटन क्षेत्रमा दुई खर्ब बढी लगानी गरेका छन् । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा २ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेका हुन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १०.५७ प्रतिशत अर्थात २२ अर्ब ८० करोड रुपैयाँले बढी हो । गत वर्ष बैंकहरुले पर्यटन क्षेत्रमा दुई खर्ब १५ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका थिए । 

राष्ट्र बैंकका अनुसार कुल लगानी मध्ये वाणिज्य बैंकहरुको लगानी सर्वाधिक दुई खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । त्यस्तै विकास बैंकहरुले पर्यटन क्षेत्रमा २७ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका छन् भने फाइनान्स कम्पनीहरुले ५ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेका छन् ।

आर्थिक विकासको मुख्य आधार रहेको पर्यटक क्षेत्रको सुधारले पर्यटन व्यवसायीहरु पनि उत्साहित देखिएका छन् । नेपालका पर्यटकीयस्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरु बढेका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को दश महिनामा नौ लाख ४१ हजार ३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक आवागमन बढेसँगै यो क्षेत्रमा बैंकहरुले लगानी बढाउन थालेका छन् ।

पर्यटन क्षेत्र चलायमान बन्दै गएपछि होटल तथा यससँग सम्वन्धित पूर्वाधार निर्माणका कामहरु पनि धमाधम अघि बढेका छन् । पर्यटन पूर्वाधार निर्माणमा आएको बढोत्तरीले पनि बैंकहरुको कर्जा लगानी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अधिकांश बैंकहरुको लगानी बढ्यो 

चालु आर्थिक बर्षको भदौ मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा अधिकांश बैंकहरुको लगानी बढेको छ । यस अवधिमा १५ वटा बैंकको लगानी बढेको छ भने ५ बैंकको लगानी घटेको छ ।

राष्ट्र बैंकका अनुसार होटल क्षेत्रमा कृषि विकास बैंकले ३२.७६ प्रतिशतले लगानी बढाएको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोड लगानी गरेको बैंकले चालु आवको यस अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै यस अवधिमा प्रभु बैंकले पनि होटल क्षेत्रमा ३२.३१ प्रतिशतले लगानी बढाएको छ । राष्ट्र बैंकका अनुसार पर्यटन क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको लगानी २३.०६ प्रतिशत, एनएमबि बैंकको २०.८८ प्रतिशत र नेपाल बैंकको लगानी १४.२६ प्रतिशतले बढेको छ । 

राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म यो क्षेत्रमा एनआईसी एशिया बैंकको लगानी १२.८२ प्रतिशतले घटेको छ । त्यस्तै माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टड, कुमारी र सिटिजन बैंक इन्टरनेशलको लगानी घटेको छ ।
 

थप समाचार