Below Menu

हकप्रद निष्कासनको पाइपलाइनमा डेढ दर्जन कम्पनी, करिब १४ अर्बको शेयर आउँदै 

हकप्रद निष्कासनको पाइपलाइनमा डेढ दर्जन कम्पनी, करिब १४ अर्बको शेयर आउँदै 

काठमाडौं : हकप्रद शेयर निष्कासनका लागि डेढ दर्जन कम्पनी नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन् । विभिन्न १९ कम्पनीले पुँजी वृद्धि र आयोजनामा लगानीका लागि हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएका हुन् ।

सेबोनका अनुसार १९ कम्पनीले १३ अर्ब ८२ करोड ९६ लाख ३० हजार ९४५ दशलमव ५ रुपैयाँ बराबरको १८ करोड ८२ लाख ९६ हजार ३०९ दशलमव ७ कित्ता हकप्रद जारी गर्न बोर्डमा निवेदन दिएका हुन् ।

हकप्रद निष्काशनका लागि पाइपलाइनमा रहेका अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् । सेबोनका अनुसार १२ जलविद्युत कम्पनी, चार निर्जीवन बीमा कम्पनी र तीन जीवन बीमा कम्पनी रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले करिब गत असार ७ गते हकप्रद शेयर निष्कासनको बाटो खुला गरेको छ । बोर्डले हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको थियो । यससँगै बोर्डले हकप्रद जारी गर्न प्रक्रिया पुरा गरेर पाइपलाइनमा बसेका अरु कम्पनीहरुले पनि क्रमशः शेयर निष्कासनका लागि अनुमति पाउने भएका हुन् ।

हाइड्रोपावर कम्पनीहरुले कर्जा तिर्न वा अन्य आयोजनामा लगानी गर्न पुँजी संकलनका लागि हकप्रद जारी गर्ने लागेका छन् भने बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनलाई हकप्रद बिक्री गर्न लागेका हुन ।

हकप्रदका लागि अनुमति पाएसँगै अब प्राथमिक शेयर (आइपीओ ) निष्कासनका लागि पनि कम्पनीहरुले पनि अनुमति पाउने देखिन्छ । गत पुसदेखि बोर्डका अध्यक्ष रमेश हमालको बहिरर्गमनसँगै दश महिनादेखि धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालन प्रभावित बन्दै आएको छ ।

नेतृत्वको अभावमा बोर्डमार्फत हुने दैनिक कामकाज शेयर निष्काशन स्वीकृतिका साथसाथै नीतिगत व्यवस्थाहरुमा समेत काम गर्न सकस भइरहेको छ । पूँजी बजारको नियामक निकाय (सेबान) ले अध्यक्ष नभएको बहानामा प्राथमिक निष्कासन, थप प्राथमिक निष्कासन, ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकेको थियो ।

अनुमति रोकेसँगै हालसम्म बोर्डमा शेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीको कारोबार नै प्रभावित भएको छ । शेयर निष्कासनको अनुमति नपाउँदा विभिन्न व्यवसाय तथा आयोजनामा आवश्यक पुँजी जुटाउन समेत कम्पनीहरुलाई समस्या भएको छ ।

पाइपलाइनमा अधिकांश हाइड्रो

सेबोनका अनुसार १२ हाइड्रोपावर कम्पनीले हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका अधिकांश कम्पनीहरुले सर्वसाधारणमा शतिप्रतिशत हकप्रद जारी गर्ने भएका छन् ।

बीमा कम्पनीको साढे पाँच अर्बको हकप्रद आउँदै 

हकप्रद शेयर निष्कासनका लागि सात बीमा कम्पनी बोर्डको अनुमतिको पखाईमा छन् । सेबोनका अनुसार हकप्रद शेयर जारी गर्न सन नेपाल लाइफ, नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, एसियन लाइफ, प्रभु इन्स्योरेन्स र नेको इन्स्योरेन्सले निवेदन दिएका छन् । 

प्राधिकरणले तोके अनुुसारको पुँजी वृद्धि गर्न कम्पनीहरुले पाँच अर्ब ५३ करोड ८६ लाख ८० हजार ७२३ रुपैयाँ बराबरको ५ करोड ५३ लाख ८६ हजार ८०७ दशलमव २३ कित्ता हकप्रद शेयर जारी गर्ने लागेका  हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

सेबोनका अनुसार जीवन बीमातर्फ सन नेपाल लाइफले चुक्तापुँजीको २७ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डको अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

त्यस्तै एसियन लाइफले चुक्तापुँजीको ४५ प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रभु महालक्ष्मी लाइफले पनि चुक्तापुँजीको १७ प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

यता निर्जीवनतर्फ नेपाल इन्स्योरेन्सले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

प्रभु इन्स्योरेन्सले चुक्तापुँजीको ५०.१५ प्रतिशत हकप्रद ल्याउन बोर्डको अनुमति मागेको छ । बोर्डको अनुमति पाएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका ८३ लाख ५० हजार १३५ दशलमव ४४ कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

सेबोनका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले चुक्तापुँजीको १५ प्रतिशत हकप्रद ल्याउन निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता हकप्रद जारी गर्नेछ । इन्स्योरेन्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

त्यसैगरी नेको इन्स्योरेन्सले चुक्तापुँजीको २५ प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख ३० हजार ९०१ दशलमव ५५ कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।


 

थप समाचार