Below Menu
Below Menu

दुई ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता, नयाँ र पुरानाको ध्रुवीकरण समाप्त भयो: अध्यक्ष ढकाल

दुई ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता, नयाँ र पुरानाको ध्रुवीकरण समाप्त भयो: अध्यक्ष ढकाल

काटमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल बीच एकीकरण हुने भएको छ । आज एक कार्यक्रमको बीत स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएसनको तर्फबाट सागर ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

एकीकरणपछि संस्थाको नाम स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल हुने सहमति भएको छ । पछिल्लो समय सेयर बजार देखिएको विकृति र विसंगतीलाई हटाउँदै बजारको विकास र विस्तार गर्नका लागि दुई संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए ।

‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको ध्रुवीकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो ध्रुवीकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ अध्यक्ष ढकाले भने, ‘यसले पक्कै पनि हाम्रो पूँजीबजारलाई र प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशानिर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

साथै अबको दिनमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एक ढिक्का भएर अघि बढन् प्रतिवद्धता व्यक्त गरे । करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायी मैत्री बनाउन मर्जरपछि एक भएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने ढकालले बताए । 

‘अझै पनि धेरै कुराहरु जुन वर्तमान अवस्थामा हाम्रो पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक छन् त्यस किसिमका व्यवस्थाहरु समावेश भएको देखिँदैन’, उनले भने, ‘यस्तो ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने हो । तर यति लामो अन्तराल पछि संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेको हुँदा सरोकारवाला सबैलाई यो विषयउपर आवश्यक छलफल गराई उक्त ऐनलाई अगाडि बढाउने हामीले आगामी दिनमा एकिकृत ढंगबाट पहल गर्नुपर्ने छ ।’ 

नेपालको पुँजी बजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजार लगायतका विषयमा हामीले अगामी दिनमा ठोस रुपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटिको डेरिभेटिभ, इण्डेक्स फण्ड लगायतका लगानी औजारहरुको विकास गर्न ढिला भैसकेको बताए ।

साथै अक्सन मार्केट, मार्केट मेकर, सिसिपि लगायतका पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ ।  सो कार्यका लागि नीगित रुपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकिृकत भई लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौं भने धितोपत्र व्यवसायीहरुको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरुले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्ग काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्त रुपमा काम गर्नेछौं ।’

मर्जर समितिमा स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट पूर्वअध्यक्ष सन्तोषराज मैनाली संयोजक छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी रहेका छन् । त्यस्तै धितोपत्र ब्रोकर्स एसोसिएनका तर्फबाट महासचिव कृष्ण गिरी संयोजक र सदस्यहरु सुमन कुमार मल्ल र सन्दिप विक्रम राणामा रहेका छन् ।

Advertisment

थप समाचार