Below Menu
Below Menu

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल, प्रतिकिलो १४७ रुपैयाँसम्मले बढ्यो मूल्य  

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल, प्रतिकिलो १४७ रुपैयाँसम्मले बढ्यो मूल्य  

काठमाडौं : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो ।

कफी सहकारी सङ्घहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिको प्रदर्शनी गर्ने उक्त दिवसमा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तक्र्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिए ।

कफी उत्पादक संस्था तथा किसान उद्यमी, जिल्ला कफी सहकारी सङ्घ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गरिने छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्कानुसार रु १३ करोड चार लाखबराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा रु ३२ करोड ५८ लाख बराबरको चार सय ५० टन कफी आयात भएको थियो । 

आव २०८०÷८१ मा रु १४ करोड ९२ लाखबराबरको ८९ टन कफी निर्यात हुँदा रु ४१ करोड ९८ लाखबराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ । आव २०८०÷८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छभने जम्मा छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ ।

चार हजार तीन सय नौ हेक्टर जग्गामा कफीखेती विस्तार भएको छ । कुल उत्पादनको झण्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरका हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । बोर्डका अधिकृत चन्द्र पुरीका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त गर्दै आएको छ ।

दश वर्षमा १४७ रुपैयाँसम्मले बढ्यो मूल्य 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार दश वर्ष नेपाली कफीको मूल्य प्रतिकिलो २० देखि १४७ रुपैयाँसम्मले बढेको छ । आर्थिक वर्ष (२०७२ देखि २०८१) सम्म आइपुग्दा कफीको मूल्यमा उल्लेख्य वृृद्धि भएको पाइएको हो । 

बोर्डले किसानबाट खरिद गर्ने कफीको मूल्य निर्धारण गर्दै आएको छ । सोको आधार १० वर्षमा प्रतिकिलो २० देखि १४७ रुपैयाँले वृद्धि भएको हो ।
बोर्डका अनुसार फ्रेश चेरी ए ग्रेडको २०७२ सालमा ८० रुपैयाँ प्रतिकिलो थियो । २०८१ सालमा दश वर्षपछि २५ रुपैयाँले वृद्धि भएर १०५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै, फ्रेश चेरी बी ग्रेडको दशक अघि ७५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको थियो । यो वर्ष ९५ रुपैयाँ निर्धारण गरिएको छ । फ्रेश चेरी बी ग्रेडको दश वर्षमा २० रुपैयाँले बढेको छ ।

यस्तै, पार्चमेन्ट ए ग्रेडको कफीको मूल्य प्रतिकिलो ४ सय थियो भने यो वर्ष ५ सय ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । यो कफीको मूल्य १३५ रुपैयाँले वृद्धि भएको छ ।  यस्तै, यही कफी बी ग्रेडको पहिला ३७५ रुपैयाँ प्रतिकिलो थियो भने, अहिले ४८२ रुपैयाँ पुगेको छ । १०७ रुपैयाँले वृद्धि भएको छ  । 

यस्तै, ड्राईचेरी ए ग्रेड कफीको मूल्य दश वर्ष पहिला १४० रुपैयाँ प्रतिकिलो थियो भने, अहिले २८० रुपैयाँ निर्धारण गरिएको छ । यो कफीको मूल्य प्रतिकिलो १४० रुपैयाँले वृद्धि भएको बोर्डले जनाएको छ । यही कफी बी ग्रेडको एक सय रुपैयाँ प्रतिकिलो पर्ने अहिले २४७ रुपैयाँ प्रतिकिलो पुगेको छ । दश वर्षमा प्रतिकिलो १४७ रुपैयाँले वृद्धि भएको बोर्डले जनाएको छ । 

Advertisment

थप समाचार