काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५३ खर्ब ३० अर्ब २ करोड रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकमार्फत अधिकतम ४७ खर्ब २१ अर्ब ५० करोड रुपैयाँ लगानी भएको छ भने विकास बैंकमार्फत ५ खर्ब ७ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
त्यस्तै अन्य फाइनान्स कम्पनीहरूले मंसिर मसान्तसम्म एक खर्ब एक अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
घर खर्च चलाउन साढे १० खर्ब ऋण
राष्ट्र बैंकको तथ्यांक अनुसार कर्जा परिचालनको तथ्याङ्क हेर्दा अधिक कर्जा घर खर्चमा प्रवाह गरेको देखिन्छ । पुस मसान्तसम्म बैंकहरूले यो क्षेत्रमा १० खर्ब ५० अर्ब १६ करोडभन्दा बढी कर्जा प्रवाह गरेका छन् । कुल कर्जा लगानीको तुलनामा उपभोग्य क्षेत्रको कर्जा उपभोग १९.७० प्रतिशत छ ।
कात्तिक मसान्तसम्म १० खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ होल्ड गरेको यो क्षेत्रको कर्जा उपभोग पछिल्लो महिना १.०७ प्रतिशतले बढेको छ । तर २०८१ असार मसान्तको तुलनामा भने ३.६० प्रतिशतले बढेको छ । गत असारसम्ममा उपभोग्य क्षेत्रमा बैंकहरूको कर्जा लगानी १० खर्ब १३ अर्ब ६० करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले होलसेल तथा रिटेल व्यावसायिक क्षेत्रमा १० खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको १९.४६ प्रतिशत हो । यो उपभोग्य क्षेत्रपछिको दोस्रो बढी कर्जा प्रवाह भएको क्षेत्र हो ।
कात्तिकमा महिनासम्म होलसेल तथा रिटेल क्षेत्र एक्लैले १० खर्ब २० अर्ब रुपैयाँ कर्जा उपभोग गरेकोमा पछिल्लो महिना यस्तो कर्जा उपभोगमा १.७२ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार कृषि, वन पैदावार तथा खाद्य तथा पेय पदार्थ उत्पादनको क्षेत्रमा बैंकहरूले ९ खर्ब ३ अर्ब ५१ करोड कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो महिनाको तुलनामा २.३३ प्रतिशतले बढी हो । कात्तिक मसान्तसम्म यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ८ खर्ब ९२ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
घट्दो उपभोग्य बजारको माग र उत्पादनले बैंकिङ कर्जामा समेत प्रभाव पारेको छ । तथापि, २०८१ असार मसान्तमा ८ खर्ब ५७ अर्ब ७२ करोड कर्जा उपभोग गरेको यो क्षेत्रले पछिल्लो ५ महिनामा ४५ अर्ब ७९ करोड रुपैयाँले कर्जा माग बढाएको छ ।
प्राथमिकताका क्षेत्रहरूमा ऋण लगानी
कृषि तथा वन पैदावार क्षेत्रमा– ८ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ
कन्स्ट्रक्सन (निर्माण क्षेत्र) मा– २ खर्ब १५ अर्ब २७ करोड रुपैयाँ
जलविद्युत, ग्यास र पानीमा– ३ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ
धातुजन्य उत्पादन तथा मेसिनरीको क्षेत्रमा– ६८ अर्ब २१ करोड रुपैयाँ
यातायात, सञ्चार तथा सार्वजनिक सरोकारका क्षेत्रमा– ७५ अर्ब ८१ करोड रुपैयाँ
फाइनान्स, बीमा तथा घरजग्गाको क्षेत्रमा– ४ खर्ब ५ अर्ब ६ करोड रुपैयाँ
पर्यटन सेवाको क्षेत्रमा– २ खर्ब ४७ अर्ब ७७ करोड रुपैयाँ
राष्ट्र बैंकका अनुसार प्राथमिकताका क्षेत्रमा कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनका क्षेत्र रहेका छन् । यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कुल कर्जाको कम्तीमा ४० प्रतिशत अनिवार्य प्रवाह गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाले अनुसार यो क्षेत्रमा १५ खर्ब छ० अर्ब ६ करोड रुपैयाँ लगानी गरेका छन् । यो कुल कर्जा लगानीको जम्मा २९.०८ प्रतिशत हो । अझै बैंकहरूको कर्जा कृषि, पर्यटन र ऊर्जा क्षेत्रले सहज रूपमा पाउन सकिरहेका छैनन् ।
गाडी किन्न एक खर्ब २८ अर्ब ऋण
बैंकहरूले लगानीको सुरक्षण खोज्दैगर्दा हायर पर्चेज सेग्मेन्टमा एक खर्ब २८ अर्बभन्दा बढी लगानी गएको छ । बैंकहरूले सवारी कर्जामा यस्तो लगानी गरेका हुन् ।
तथापि, कात्तिक मसान्तसम्ममा हायर पर्चेजमा एक खर्ब २६ अर्ब ७१ करोड रुपैयाँ लगानी गरेका बैंकहरूले पछिल्लो महिना १.५१ प्रतिशतले लगानी बढाएका छन् । २०८० असारमा भने यस्तो सवारी कर्जाको हिस्सा एक खर्ब २४ अर्ब १० करोड रुपैयाँ थियो ।
राष्ट्र बैंकले सवारी कर्जालाई सहजीकरण गर्दै मौद्रिक नीतिको गत आवको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारिदिएपछि यो क्षेत्रमा लगानीमा बढेको हो ।
यस्तै, चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर मार्जिन लोनमा २० करोडमा सीमा खारेज गरिदिँदा शेयर धितो कर्जामा पनि उल्लेख्य लगानी वृघि भएको देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यिस अवधिमा शेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । शेयर धितो कर्जा बढेपनि शेयर बजारप्रति आम लगानीकर्ताहरूको उत्साह भने अझै बढ्न सकेको छैन ।
राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत शेयर धितोकर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा र १२ करोडको सीमालाई २० करोड रुपैयाँसम्म पु¥याइदिएको थियो । चालु आवको मौद्रिक नीतिमा २० करोडको सीमा खारेज गरदिएको छ ।
२०८१ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाले शेयर मार्जिन प्रकृतिको कर्जामा १७ अर्ब ८५ करोड रुपैयाँले ऋण लगानी बढाएका छन् । असार मसान्तसम्म यो क्षेत्रमा ९० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी भएको थियो ।
Advertisment