काठमाडौं : काठमाडौंको कपन स्थित मौलिक बजार तथा मौलिक भान्छाघरले मोरङ जिल्लाको रतुवामाई-१०, सोमबारेमा सेवा विस्तार गरेको छ ।
‘मौलिक बजार सोमबारे जाऔं, मौलिक भान्छामा रमाऔं, ७ प्रदेशको परिकार खाऔं, ७५३ गाउँको उत्पादन लैजाऔं’ भन्ने स्लोगनसहित सोमबारेमा सेवा विस्तार गरेको हो ।
नेपाली परम्परागत स्वाद र संस्कृति जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिँदै मौलिक भान्छा घरले अब मोरङमा आफ्नो सेवा विस्तार गरेको हो । यसका साथै, मौलिक बजारको नयाँ पहिचानसमेत सार्वजनिक गरेको छ, जसले नेपाली उत्पादक र उपभोक्ताबीचको सम्पर्कलाई अझ सशक्त बनाउनेछ ।
शनिबार भव्य समारोहको बीच प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, ग्राहक र स्थानीय समाजसेवीहरूले उपस्थितीमा उद्घाटन गरिएको छ । नेपाली मौलिक स्वादलाई जगेर्ना गर्दै ग्राहकहरूलाई स्वच्छ, स्वस्थ र परम्परागत परिकार प्रदान गर्नु मौलिक भान्छाघरको उद्देश्य रहेको छ । मौलिक बजार तथा मौलिक भान्छाघरले स्थानीय कृषक, उत्पादक र सेवा प्रदायकलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुर्याउने जनाएको छ ।

मौलिक बजार तथा मौलिक भान्छाघरले देशभर सात वटै प्रदेशका ७५३ पालिकामा एक स्थानिय तह–एक उत्पादन ब्राण्डिङ, एक खरिद विक्री केन्द्र (मौलिक बजार) तथा एक मौलिक भान्छाघर संचालन गर्ने अवधारणाका साथ कार्य सञ्चालन गरिरहेको छ । ७ वटै प्रदेशमा प्रादेशिक परियोजना सञ्चालन गर्ने उद्देश्य अनुरुप हाल कम्पनीले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर कोशी प्रदेश तथा स्थानिय सरकार र सरोकारवाला संघसंस्था सँग सहकार्य गर्दै अघि बढिरहेको छ ।
मौलिक बजारः नेपाली उत्पादनलाई जोड्ने नयाँ पहल
यसै अवसरमा मौलिक बजारको सुरुवात समेत घोषणा भएको छ। मौलिक बजार एउटा यस्तोप्लेटफर्म हो, जहाँ स्थानीय उत्पादनहरू विशेष गरी नेपाली कृषि तथा खाद्य सामग्री, हर्वल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकला, र मौलिक पहिचान बोकेका वस्तुहरू बजारमा ल्याइनेछ । यस पहलले स्थानीय उत्पादकहरूलाई उचित मूल्यमा ग्राहकहरूसम्म पुर्याउने, नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, र परम्परागत व्यवसायलाई डिजिटलाइजेसनतर्फ लैजाने लक्ष्य राखेको छ ।
भान्छा घरमा कोदो, फापर, जौ, मकको मःम, चाउमिन, थुक्पा, थेन्दुक, पिज्जा, कुकिज र केक पाइन्छ । त्यस्तै प्रदेश स्तरीय परिकारहरु कोशी प्रदेश (किनेमा, याङवने र भक्का), मधशे प्रदेश (बगिया, तरुवा), बागमती प्रदेश (योमरी र बारा), गण्डकी प्रदेश (जेठोबुढो चामलको खिर, सेलरोटी), लुम्बिनी प्रदेश (खिचडि र ढिकृ), कर्णाली प्रदेश (मार्सि खाना सेट, बटुक) र सुदुर पश्चिम प्रदेश (माडा र तले रोटी) पाइन्छ।
Advertisment