Below Menu
Below Menu

वित्तीय पोस्ट तेस्रो वर्षमा प्रवेश

वित्तीय पोस्ट तेस्रो वर्षमा प्रवेश

नेचुरल मिडिया प्रा.लि.द्वारा सञ्चालित वित्तीय पोस्ट स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सम्पूर्ण पाठक, सहकर्मी, विज्ञापनदाता एवं शुभचिन्तकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

निष्पक्ष, व्यावसायिक पत्रकारिताको स्वतन्त्र र बिशिष्ट अभ्यासको उद्देश्यसहित औपचारिक रुपमा आजकै दिनबाट वित्तीय पोस्टले आफ्नो यात्रा सुरु गरेको थियो । हाम्रो उपस्थिति सकारात्मक गतिविधिहरुको प्रचारप्रसार र कमीकमजोरीहरु औल्याउने काममा सन्तुलित र न्यायपूर्ण रहेको छ । प्रमाण यसको बढ्दो लोकप्रियता, विश्वसनीयता र प्रभावकारीता सिवाय अरु केही होइन ।  

वित्तीय क्षेत्रमा देखिएका विकृति–विसंगति, प्राप्त सफलता, उत्प्रेरणाका कथा, नीतिगत क्षेत्रमा देखिएका कमजोरी र सुधारका पक्ष लगायत विषय प्राथमिकतामा रहँदै आएको छ। २१ औं शताब्दीको पत्रकारिताले पनि हिजो भन्दा बढी विवेक, सुशासन र पारदर्शिता अनि प्रजातन्त्रको माग गर्दछ । वित्तीय पोस्ट यस विषयमा बढी नै सचेत रहेको अवगत गराउन चाहन्छ।

यो यात्रा सहज बनाउन हामी एक्लैको प्रयास कदापि प्रयाप्त थिएन र हुने छैन । हाम्रो सुरुवात कम सकसपूर्ण रहेन र आजका दिनमा पनि व्यावसायिक पत्रकारिताको धर्म निर्वाह गर्न र दिगोपनाका निम्ति चुनौतीहरुका चाङ छन् । त्यसमाथि आर्थिक संकटले पत्रकारितालाई पनि अप्रभावित बनाउन सकेन । हामीले यस अवधिमा धेरै संघर्ष, चुनौती, व्यवधानसँगै हौसला र अनुपम अनुभव संगालेका छौं । यो अवसरमा हामीले पाएको स्थानलाई अझै उचाइँमा पुर्याउने दृढता समेत व्यक्त गर्दछौं ।

आमपाठकलाई सुसूचित गराउने मूल दायित्वबाट हामी कहिल्यै बिमुख हुने छैनौं । वित्तीय पोस्टले विगतमा निष्पक्ष कभरेजको आमरूपमा जुन प्रशंसा पाएको छ, त्यसले हामीलाई जिम्मेवारपूर्ण र व्यवसायिक भएर अघि बढ्न थप ऊर्जा दिएको छ ।

यो खुसीमा विशेषतः सबै शुभेच्छुक, सहयोगी हात र हौसलाप्रति आभार प्रकट गर्न चाहन्छ । विशेषगरी श्रद्धेय पाठक, सिर्जनशील पत्रकार, लगनशील कर्मचारी, सहयोगी सहकारी संघ संस्था, विज्ञापनदाता र एजेन्सीलगायतमा हामी कृतज्ञ छौं । आशा छ, यहाँहरुको सहयोग विगतमाझैँ निरन्तर हुनेछ ।

Advertisment