Below Menu
Below Menu

बेथानचोक गापा र बिन्धवासिनी सहकारीबीच ब्याज अनुदान सम्झौता, ५% ब्याजदर पालिकाले तिरिदिने

बेथानचोक गापा र बिन्धवासिनी सहकारीबीच ब्याज अनुदान सम्झौता, ५% ब्याजदर पालिकाले तिरिदिने

काभ्रेपलाञ्चोक : बेथानचोक गाउँपालिकाले उद्यमशिलता विकासका लागि युवा तथा कृषकहरुलाई ब्याज अनुदान दिने भएको छ । ब्याज अनुदानको लागि गाउँपालिकाले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बिन्धवासिनी सहकारीले बार्षिक ९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ । उक्त ब्याजदरमा गाउँपालिकाले ५ प्रतिशत अनुदान दिने छ भने ४ प्रतिशत ब्याजदर उद्यमी स्वंयमले तिनुपर्नेछ । 

संस्थाले युवा तथा कृषकहरुलाई ६ महिनादेखि ३ वर्षे अवधिसम्मका लागि प्रतिव्यक्ति २० लाखसम्म कर्जा उपलब्ध गराउने सम्झौता गरिएको छ ।  सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट अध्यक्ष भगवान अधिकारी र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले हस्ताक्षर गरेका छन् । त्यस्तै सहकारी संस्थाको तर्फबाट अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत के.बी.लामा स्याङ्तानले हस्ताक्षर गरेका छन् ।

गाउँपालिकाले जिल्लाकै नमुना कार्यक्रम अन्र्तगत बैदेशिक रोजगार प्रतिको आर्कषण कम गर्न तथा बैदेशिक रोजगार गएर फर्किएका युवाहरुलाई लक्षित गरी ब्याजमा अनुदान कार्यक्रम शुरु गरेको पालिकाले जनाएको छ । पालिकाले १९ प्रकृतिका व्यवसायलाई अनुदान उलब्ध गराउने जनाएको छ । पालिकाले पहिलो चरणमा पचास जना उद्यमीलाई ब्याज अनुदान उलब्ध गराउने जनाएको छ ।

संस्थाले प्रवाह गर्ने कर्जामा कुनै सेवा शुल्क नलाग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी.लामा स्याङ्तानले जानकारी दिए। पहिलो चरणमा ५० जनालाई १० करोड रुपैयाँसम्म लगानी गर्ने सम्झौता भएको उनले बताए ।

संस्थाले यस्तो अभ्यास रोशी गाउँपालिकासँग पनि गरेको छ । बिगत केही वर्षदेखि रोशी गाउँपालिकाले बिन्धवासिनीसँग सहकार्य गरी कृषकहरुलाई ब्याज अनुदान उपलब्ध गराउँदै आएको छ ।

Advertisment

थप समाचार