काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सहकारीकर्मीहरुनै एकजुट हुनुपर्ने बताएकी छिन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आइतबार आयोजना गरेको ‘नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले भनिन, ‘सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने र सहकारीमा सुशासन कायम गराउने विषय अरुले आएर गर्दिने हैन । सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरु मिलेरै समस्या समाधान गर्ने हो । त्यही भएको अभियानकर्मी एक जुट हुनुको विकल्प छैन ।’
नेपाल सरकार लगायत अन्य नियामक निकायको सहयोग लिएर समस्यालाई समाधानमा सबै जुट्नुपर्नेमा जोड दिईन । जति सहकारीहरु समस्यामा परेका छन् तिनिहरु बचत तथा ऋणका मात्रै रहेको बताउँदै अध्यक्ष मल्लले अझै चिन्तित् भएर समस्या समाधानमा सबैजना लाग्नुपर्ने बताईन ।
नेपालका सहकारी संघहरुले आफ्नो विनियम अनुसार काम गर्न नसकेको समेत अध्यक्ष मल्लले बताईन । ‘जतिनै ठूलो कुरा गरे पनि संघ मातहतका सहकारीहरुलाई सुशासन, पारदर्शिता, आर्दश, नैतिकताको पाठ सिकाउन सकेको भए आज यो समस्या आउँथ्यो र ? हामी कहाँ चुक्यौ ? यसको समिक्षा जरुरी छ’, अध्यक्ष मल्लले भनिन् ।
‘संघमा आवद्ध सहकारीलाई बलियो बनाउने काम संघहरुको पनि होला नि त? सदस्यता शुल्क लिने मात्रै काम संघहरुको हो र ? संस्थाहरुलाई परेको समस्या समाधान गर्ने जिम्मेवारी संघको होला नि त ?’ अध्यक्ष मल्लले भनिन्, ‘समस्याहरु एकद्वार प्रणालीबाट उठाउनु पर्याे । महासंघमा छलफल गर्नुपर्याे र एकद्वार प्रणालीबाट समस्या समाधानका लागि पहक कदमी अघि बढ्नुप¥यो । कुनै पनि संघहरुको समस्या समाधानका लागि महासंघ हरपल साथ दिन तयार छ ।’
१८ वटा केन्द्रीय संघहरु मध्ये केहीको नाम लिन पनि लाज लाग्ने अध्यक्ष मल्लले बताईन । ‘संघ बनाएका छन्, कति वर्षदेखि साधारण सभा समेत भएका छैनन् । यसको औचित्य के हो ?’, उनले भनिन्, ‘आउनुस् बसौं । कतिवटा संघहरु बनाउँदा राम्रो हुन्छ त्यतिवटै बनाऔं । होईन भने किन संघ बनाएको, यसको काम र औचित्य के हो ? बसेर छलफल गरौं ।’
अभियानकर्मीको मात्रै नभएर सरकारकै कारण पनि केही समस्याहरु आएको उनले बताईन । सहकारी ऐनमा समवेश भएका व्यवस्थाहरु सरकारले समयमै सम्बोधन नगर्दा पनि केही समस्याहरु आएको उनको भनाई थियो ।
Advertisment