Below Menu
Below Menu

आज ६८औँ राष्ट्रिय सहकारी दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

आज ६८औँ राष्ट्रिय सहकारी दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज ६८औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आजको दिन नेपालको सहकारी अभियानको सबैभन्दा ठूलो पर्व हो ।

मुलुकभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै तीनै तहका सरकारले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् । केही सहकारीले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु सुरु गरिसकेका छन् ।

राष्ट्रिय सहकारी महासंघले केही दिनअघि यस वर्षको सहकारी दिवसको थीम ‘मर्यादित सहकारीः समुन्नत समाज’ घोषणा गरेसँगै त्यसैलाई समग्र अभियानले आत्मसात् गर्दै कार्यक्रमहरु परिलक्षित गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी अभियानको संयुक्त आयोजनामा आज राष्ट्रिय सभा गृहमा ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को भव्य कार्यक्रम समेत आयोजना हुँदैछ ।

समारोहमा सहकारी गानको सार्वजनिकीकरण, सहकारी वर्ष लोगो अनावरण, उत्कृष्ट सहकारी पुरस्कार घोषणा, थिम सार्वजनिकीकरण, सांस्कृतिक कार्यक्रम लगायतका महत्वपूर्ण गतिविधिहरु तय भएको राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिईन ।

सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले खेलकुद, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु, रक्तदान, अन्तरक्रिया, छलफल, सरसफाई, प्रविधिमैत्री सेवाहरुको सुभारम्भ, वृक्षारोपण लगायत विविध प्रकृतिका कार्यक्रमहरु आयोजना गरेका छन् भने केहीले आगामी केही दिनसम्म कार्यक्रमहरु जारी राख्ने जनाएका छन् ।

२०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो ।

Advertisment

थप समाचार