काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा दुई करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.६२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।
गत वर्ष ५ करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको ब्याज आम्दानी ५६.६६ प्रतिशत बढेर आठ करोड ९२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यस अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३३.९२ प्रतिशत ले बढेको छ भने अन्य सञ्चालन आम्दानी १४ प्रतिशत घटेको छ। त्यस्तै, समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३९.५४ प्रतिशत बढेको छ।
यस अवधिमा आइपुग्दा कम्पनीको खराब कर्जा पनि बढेको छ । गत वर्षको सोही अवधिमा २.६९ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर ३.०१ प्रतिशत पुगेको छ ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी पनि बढेको छ। चैत मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिशेयर आम्दानी १.६५ रुपैयाँ बढेर ३१.२० रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४.२ गुणा रहेको छ।
चैत मसान्तसम्म ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।
Advertisment