Below Menu
Below Menu

वैदेशिक व्यापारः १३ खर्बको आयात हुँदा ६५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा ११ खर्बमाथि !

वैदेशिक व्यापारः १३ खर्बको आयात हुँदा ६५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा ११ खर्बमाथि !

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढेको छ । नौं महिनामा नेपालले सवा ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा ६.४५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको छ । चैत मसातसम्म नेपालले १४ खर्ब ९७ अर्ब ७७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

निर्यात ६५ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । चैत मसान्तसम्म सवा १३ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने पौने दुई खर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा १३ खर्ब नौं अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

१३० देशसँगको व्यापार घाटामा 

मुलुकले फागुन मसान्तसम्म १६३ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १३० देशसँगको व्यापार घाटामा रहेको छ भने ३३ देशसँगको व्यापार नाफामा रहेको छ । 

नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग छ खर्ब ३५ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । 

भारतबाट नेपालले यस अवधिमा सात खर्ब ८५ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने एक खर्ब ४९ अर्ब ९८ करोड १२  लाख रुपैयाँ बरारबरको सामान निर्यात गरेको छ । 

त्यस्तै चीनसँगको वैदेशिक व्यापारमा नेपालले २ खर्ब ४५ अर्ब ६५ करोड २३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । नौं महिनामा नेपालले २ खर्ब ४७ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ अर्ब २५ करोड ५६ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । 

नेपालले यस अवधिमा अर्जेन्टिनासँग ५७ अर्ब ७० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ भने अष्ट्रेलियासँग १३ अर्ब ८४ करोड, क्यानडासँग पाँच अर्ब ७७ करोड, फ्रान्ससँग छ अर्ब ५३ करोड र इन्डोनेसियासँग १० अर्ब २३ कारोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

त्यस्तै मलेसियासँगको व्यापारमा नेपालले १० अर्ब ५५ करोड रुपैयाँ, कतारसँग ५ अर्ब ३६ करोड, थाइल्याण्डसँग १० अर्ब ३२ करोड, युक्रेनसँग २० अर्ब ३४ करोड, युनाइेड अरब इमिरेट्स (युएई) सँग २१ अर्ब २४ करोड र अमेरिकासँगको वैदेशिक व्यापारमा ६ अर्ब ८३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । 
 

Advertisment

थप समाचार