Below Menu
Below Menu

इभीमा बढ्दो क्रेज: नौं महिनामा साढे १८ अर्बको आयात, ११ अर्ब ४७ करोड उठ्यो राजस्व

इभीमा बढ्दो क्रेज: नौं महिनामा साढे १८ अर्बको आयात, ११ अर्ब ४७ करोड उठ्यो राजस्व

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ ।  चालु आर्थिक वर्षको नौं महिनामा मात्रै सात हजार बढी इभि गाडी आयात भएका छन् । 

भन्सार विभाग तथ्यांकअनुसार चैत मसान्तसम्म सात हजार ९५८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । यस अवधिमा सरकारले १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात गरेको हो ।

उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा १२.१९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बराबरको सात हजार ९३ युनिट विद्युतीय गाडी आयात गरेको थियो । 

विद्युतीय गाडीको आयातसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ । गत वर्षको सोही अवधिमा इभि गाडीको आयातबाट सात अर्ब ७८ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने यस वर्ष आयातित गाडीबाट ११ अर्ब ४७ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन ४७.४३ प्रतिशतले बढी हो । 

नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका  विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा १० अर्ब ९४ करोड ४० लाख मूल्यका चार हजार ४१४ गाडी भित्रिएका छन् ।

सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।

चैत मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका चार अर्ब ९७ करोड ३६ लाख मूल्य बराबरका दुई हजार ७८३ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका दुई अर्ब ५६ करोड ९ लाख रुपैयाँ बराबरको ७४२ युनिट गाडी आयात भएका छन् । 

विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका १२ करोड ४९ लाख रुपैयाँ बराबरका १७ युनिट गाडी आयात भएका छन् भने ३०० किलोवाटमाथिका ८३ लाख २३ हजार रुपैयाँ बराबरको दुई युनिट गाडी आयात भएका छन् ।
 

Advertisment

थप समाचार