Below Menu
Below Menu

रोयल बहुउद्देश्यीय सहकारीको २८ वर्षे यात्रा: २५ हजारबाट १.६० करोड, यस्तो छ भावी योजना

रोयल बहुउद्देश्यीय सहकारीको २८ वर्षे यात्रा: २५ हजारबाट १.६० करोड, यस्तो छ भावी योजना

काठमाडौं : बसुन्धरा काठमाडौंमा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था २८ वर्षमा प्रवेश गरेको छ । संस्थाले विविध कार्यक्रम गरी २८औं वार्षिक उत्सव मनाएको छ । 

स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो सेवा, सुविधालाई समय सापेक्ष अझै परिस्कृत तथा परिमार्जित गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

संस्थाको प्रधान कार्यालयमा शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति सदस्यहरु, कर्मचारी तथा शुभेच्छुकहरुको उपस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा ८३ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा मुक्तिनाथ ग्रुपका अध्यक्ष भरत राज ढकाल सहित मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ फाउन्डेसनका प्रतिनिधिहरुको सहभागिता थियो ।

साथै, संस्थाले विश्व पृथ्वी दिवस अवसरमा मुक्तिनाथ फाउन्डेसनको सहकार्यमा विश्व पृथ्वी दिवसको महत्व बारे प्रकाश पार्दै वातावरणीय चेतना फैलाउने, पृथ्वीको संरक्षण गर्ने र जलवायु परिवर्तन जस्ता समस्याहरूप्रति जनचेतना अभिवृद्धिको बारेमा कार्यपत्र पेश गरिएको थियो । 

मुलकले अबलम्बन गरेको नीति बमोजिम समाजमा आर्थिक तथा सामाजिक रुपबाटपछि परेका समुदायका सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक स्तरमा वृद्धि गराई देशको विकासको अभियानमा नयाँ ईटा थप्ने उद्देश्यले सहकारी ऐन बमोजिम रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०५५ सालमा स्थापना भएको थियो ।

२५ जना युवाहरु मिलि २५ हजार पुँजीबाट २०५५ वैशाख ९ गते स्थापना भएको रोयल २७ वर्ष पार गर्दा १.३० अर्ब निक्षेप संकलन, १.०९ अर्ब कर्जा प्रवाह, कबि ११ हजार सदस्यहरुलाई सेवा प्रभाव गरिरहेको छ । संस्थाको कुल कारोबार करिब १ अर्ब ६० करोड रहेको छ ।

काठमाडौंको अनामनगरमा एक फ्ल्याट भाडामा लिई सुरु भएको रोयल सहकारीको बसुन्धरामा करिब एक रोपनी क्षेत्रफल भएको जग्गामा अत्याधुनिक भवन निर्माण गरी सोही भवनबाट सेवा सञ्चालन गरिरहेको छ । संस्थाले प्रधान कार्यालयका साथै ३ वटा सेवा केन्द्रका सेवा प्रवाह गरिरहेको छ । संस्थाको फर्पिङ सदस्य सेवा केन्द्र र टोखा सदस्य सेवा केन्द्रबाट पनि आफ्नै अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ।

सदस्यको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम
संस्थाले ग्रामिण क्षेत्रमा आर्थिक, सामाजिक र साँस्कृतिक विकासलाई प्रोत्साहन गर्न लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्रामिण क्षेत्रका निम्न आय भएका परिवारहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सहकारीले कृषि, पशुपालन, साना उद्योग, व्यापार तथा अन्य आयमूलक क्रियाकलापमा लगानी गर्न सदस्यहरूलाई लघुवित्त कर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत काफ्लेले बताए। 

संस्थाले सदस्यहरूको आर्थिक गतिविधिलाई सबल बनाउन मात्र होइन, सामाजिक गतिविधिमा समेत उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गरेको छ । लघुवित्त कार्यक्रममार्फत महिला सशक्तीकरणलाई पनि विशेष प्राथमिकता दिइएको काफ्लेको भनाई छ।

‘महिलाहरूलाई उद्यमशीलता तालिम प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन सहकारीले निरन्तर पहल गरिरहेको छ । सहकारीले आफ्नो सेवा प्रवाह गर्दा पारदर्शिता र विश्वसनियतालाई विशेष महत्व दिएको छ । सदस्यहरूले सहज रूपमा सेवा पाउन सकुन भन्ने उद्देश्यले सरल प्रक्रिया तथा पहुँच सुनिश्चित गरिएको छ । ग्रामीण क्षेत्रमा आर्थिक अवसर सिर्जना गर्न र सदस्यहरूको आयस्तर बढाउन संस्था निरन्तर क्रियाशील छ’, सीईओ काफ्लेले भने, ‘सहकारीको मुख्य उद्देश्य मात्र नाफा कमाउनु नभई सेवामुखी कार्यलाई अघि बढाउनु हो । यसले ग्रामीण क्षेत्रमा शिक्षाको स्तर सुधार्न विभिन्न पहलहरू सञ्चालन गर्दै आएको छ जस अन्तर्गत विद्यालय तथा शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।’

संस्थाले समुदाय विकासका लागि नवीनतम कार्यक्रमहरू लागु गर्दै सामाजिक एकता र समृद्धि स्थापना गर्न सक्दो प्रयास गरिरहेको छ । यस सहकारीले आर्थिक श्रोत साधनको उचित परिचालन गर्दै आफ्नो सदस्यहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ ।

चालुआर्थिक वर्षमा लघुवित्त कार्यक्रमलाई संस्थाका सम्पूर्ण सेवा केन्द्र कार्यालयहरुबाट विभिन्न किसिमका वित्तीय सेवाहरु जस्तै बैकिङ्ग, लघुवित्त, बीमा, वित्तीय साक्षरता, सामूहिक बाल बचत कार्यक्रम, सहकारी तथा लघुवित्त जनचेतना कार्यक्रम र विभिन्न किसिमका सीपमूलक तालिम जस्ता कार्यक्रमलाई अझ प्रभाबकारी रुपमा विस्तार गर्ने योजना रहेको उनले बताए ।

कृषि श्रोत केन्द्र स्थापना
संस्थाले मुक्तिनाथ कृषि कम्पनिको सहकार्यमा सेवा केन्द्र कार्यालय टोखा र फर्पिङमा कृषि श्रोत केन्द्र स्थापना गरी किसानहरुलाई आवश्यक पर्ने बिउ बिजन, कृषि औजार तथा उपकरणहरु, जैविक तथा रासायनिक बिषादीहरु, जैविक, प्रांगारिक मल र सुक्ष्म पौष्टिक तत्वहरु, कृषिसँग सम्बन्धित प्राविधिक तथा वित्तीय सेवाहरु प्रदान गरिरहेको छ । किसानहरुलाई आवश्यकता अनुसार बाली शिविर तथा व्यवसायिक तरकारी खेती तालिम प्रदान समेत गरेको छ ।

कृषि श्रोत केन्द्र कृषकहरूको उत्पादन क्षमता र दक्षता वृद्धि गर्ने उद्देश्यले काम गर्दै आएको छ । सहकारीले कृषकहरूलाई आधुनिक कृषि उपकरण र प्रविधि उपलब्ध गराएर परम्परागत कृषि प्रणालीलाई आधुनिकिरण प्रविधिसँग जोड्ने काम गरेको छ ।

कृषकलाई समयानुकूल सल्लाह र मार्गदर्शन प्रदान गरी उत्पादन प्रणालीलाई थप प्रभावकारी बनाएको छ । यसले कृषकहरूको आर्थिक स्थिति सुधार्ने र आम्दानीमा उल्लेखनीय वृद्धि गर्ने मार्ग प्रशस्त गरेको छ । 

कृषकहरूलाई अनुदान र सहुलियत कर्जा सुविधा प्रदान गरेर कृषिमा लगानीको वातावरण सिर्जना गरेको छ । कृषि उत्पादनमा सुधार ल्याउने उद्देश्यले, जैविक र दिगो कृषि अभ्यासको प्रवद्र्धन गरिएको छ । कृषकहरूको उत्पादन र व्यवसायीकरण प्रक्रियामा सहयोग गर्दै, यसले समग्र कृषि क्षेत्रलाई सशक्त बनाएको छ । कृषि स्रोत केन्द्रको यो पहलले ग्रामीण अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गर्दै, दिगो समृद्धिको मार्ग खोलेको छ ।

यस्तो छ प्रस्तावित भावी योजना तथा कार्यक्रम
संस्थाले सदस्यहरुलाई पूर्ण वित्तीय सेवाहरु बचत, कर्जा, बीमा, लघुवित्त, रेमिट्यान्स, तालिम तथा वित्तिय परामर्श प्रदान गरिरहेको छ ।

समाजमा रहेका हुँदा खानेदेखि हुने खानेसम्म, बच्चादेखि बृद्धासम्म, धनिदेखि गरिब सम्मका सदस्यहरुलाई विभिन्न किसिमका वस्तु तथा सेवाहरु प्रदान गर्ने सहकारीको रुपमा विकास गर्न सफल भएको काफ्लेको भनाई छ । संस्थाले हालको योजनामा कृषकमुखी एवम् उपभोक्ता मुखी सहकारी मोडल निर्माण गर्न आफ्नो कार्यक्रमहरु अगाडी बढाइरहेको छ ।

चालु आर्थिक वर्षमै कृषि मार्ट
देशभरका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापन तथा वितरण सम्बन्धी कार्यका लागि काठमाडौंमा मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा मुक्तिनाथ कृषि मार्ट चालु आर्थिक वर्षमा सञ्चालन गर्ने योजना संस्थाको छ।

स्मार्ट फार्मिङ र एग्रो नर्सरीको विस्तृत योजना तयार
कृषिमा आधुनिक प्रविधि, नविनतम् समाधान र स्वचालनको प्रयोग गरेर उत्पादनमा वृद्धि गर्ने, लागत घटाउने र दक्षता सुधार गर्ने उद्देश्यले संस्थाले स्मार्ट फार्मिङ र एग्रो नर्सरी स्थापनाकालागि विस्तृत योजना तयार गरेको छ ।

जसको उद्देश्य कृषि उत्पादन क्षमता वृद्धि गर्न र दिगो कृषि कार्यमा सहयोगी रहनु रहेको छ । यी योजनाहरूले आधुनिक कृषि प्रविधिहरूलाई परिचय गराउने र बिरुवा उत्पादनमा सहयोग पु¥याउनेछन्, जसले सहकारीका सदस्यहरूको आर्थिक र वातावरणीय अवस्था सुधार्ने छ ।

बहुउद्देश्यीय कृषि परियोजनाको सम्भाव्य अध्ययन
संस्थाको उद्देश्य अनुरुप अगाडि बढ्न वैकल्पिक व्यवसाय अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुर मध्ये कुनै जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना सञ्चालन गर्न योजना अनुरुप सम्भाव्य अध्ययन भइरहेको सीईओ काफ्लेले बताए ।

Advertisment

थप समाचार