काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीको ३ अर्ब रूपैयाँ बचत मिलान गरिसकेको बताएका छन्।
नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, '२३ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन्। तीन सहकारीको बचत राफसाफ गरिसकेका छौ। ३ अर्ब मिलान गरिसक्यौ। जेठभित्र दुई सहकारीको पनि समस्या समाधान हुन्छ। हुन सक्ने सबै उपाय अपनाएर बचत फिर्ता गराउन लागेका छौं'
यसका साथै उनले दुई वर्षभित्र सबै सहकारीको बचत फिर्ता गर्ने लक्ष्य राखेको बताए।
कार्यक्रममा बोल्दै उनले सहकारीलाई गिज्याएर फाइदा लिनेहरु बढेको समेत बताए। उनले भने,' ३२ हजार सहकारीमा १ हजार मात्र समस्यामा छन्। यसलाई गिज्याएर फाइदा लिने बढेका छन्। ऋण तिर्न पर्दैन भनेर लागि परेका छन्।'
उनले सहकारीको ऋण नतिर्नेहरूका लागि ताकेता गरेको समेत बताए। ऋण तिर्नका लागि तिनवटै निकायबाट सूचना जारी गरेको उनले बताए।
सहकारीमा केही भ्रम सिर्जना भएको बताउँदै उनले भने,' सहकारी खराब छन् भन्ने भाष्य सिर्जना भएको छ। सहकारी अर्थतन्त्रको तेस्रो खम्बा र आर्थिक उपार्जनको महत्वपूर्ण क्षेत्र हो। यसलाई सकारात्मक कामबाट अघि बढ्यो भने गलत गर्ने प्रवृत्तिलाई निस्तेज गर्न सकिन्छ।'
साथै उनले उद्देश्य भन्दा बढी लालचमा लागेर उद्देश्यलाई मोडेर काम गर्दा सहकारीमा समस्या आएको बताए।
Advertisment