Below Menu
Below Menu

‘अब सहकारी प्राधिकरणको कामले रफ्तार लिन्छ’

‘अब सहकारी प्राधिकरणको कामले रफ्तार लिन्छ’

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सञ्चालक सदस्य मदन कोइरालाले प्राधिकरणको कामले अब रफ्तार लिने बताएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव समेत रहेका कोइरालाले भने, ‘आन्तरिक कानून र कार्यविधिहरु बनाउने काममा लागेका छौं, अब चाँडै यो प्राधिकरण दौडिन्छ ।’

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागले संयुक्त रुपमा आयोजना गरेको ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक’ अन्तरक्रिया कार्यक्रमा कोइरालाले कुनै रुख रोपेपछि फल्न समय लाग्ने भन्दै आन्तरिक कानून तथा कार्यविधिहरु निर्माण गर्ने काम भएको स्पष्ट पारे ।

यही वैशाख २ देखि सेवा अवधिका कारण प्राधिकरण अध्यक्ष समेत रहेका मन्त्रालयका सचिव अर्जुन पोखरेलले अवकाश लिएसँगै सहकारी नियमन प्राधिकरण अध्यक्ष विहीन बनेको छ । यद्यपि, सहसचिव कोइरालाले आन्तरिक कार्यविधि निर्माण, जनशक्ति व्यवस्थापनको काम भैरहेको र सर्च कमिटिमार्फत समितिले चाँडै पूर्णता पाउने दाबी गरे ।

सहकारी क्षेत्रको नियमन हुन नसकेकै कारण प्राधिकरण गठन गर्नुपर्ने अवस्था आएको समेत सहसचिव कोइरालाले स्पष्ट पारे । सैद्धान्तिक रुपमा सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि त्यसो हुन नसकेको र सँगै नियमनको काम पनि नियामकीय निकायबाट हुन नसकेपछि प्राधिकरण गठन गएको उनले बताए। 

कोइरालाले भने, ‘सहकारीको सिद्धान्तले स्वनियमन भनेपनि तर स्वनियमनभित्र बस्न नसकेका कारण समस्या आएको हो । नियमन पनि हुन नसकेको हो । २०६६ सालदेखि २०६९ सालसम्म राष्ट्र बैंकलाई अनुरोध गरेर जनशक्ति ल्याइ सहकारीहरुको अनुगमन पनि गरिएको हो । तिनका रिपोर्टहरु पनि धेरै आएका छन् । तर, समयमा तिनको सुझावहरु कार्यान्वयन नगर्दा समस्या आएका हो ।’

सहकारीहरुलाई नियन्त्रण वा कन्ट्रोल गर्ने भन्दा पनि बचत ऋण सहकारी संघ संस्थाका साथीहरुसँग सहकार्य गरेर सहकारीलाई व्यवस्थित, पारदर्शी र सक्षम बनाउने काममा प्राधिकरण लाग्ने उनले उल्लेख गरे । उनले प्राधिकरण स्वायत्त र शक्तिशाली नियामक निकाय भएको पनि स्पष्ट पार्दै अब चाँडै नै यसले आफ्नो प्रभावकारिता पुष्टि गर्ने बताए । यसका लागि सहकारी विभाग, अभियानसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाए । यद्यपि, नियमनमा भने सहकार्य नहुने कोइरालाले स्पष्ट पारेका थिए।

उनले प्राधिकरण र सहकारी विभागबीच पनि काम, कर्तव्य र अधिकारमा कुनै समस्या नआउने बताउँदै सहकार्य र समन्वय हुने बताए । 
 

Advertisment

थप समाचार