Below Menu
Below Menu

सहकारीका सम्बन्धमा नकारात्मकताको बीउ रोपेर सकारात्मकता उम्रदैन

सहकारीका सम्बन्धमा नकारात्मकताको बीउ रोपेर सकारात्मकता उम्रदैन

आफू स्वयम् संस्थापक रहेको, सहकारीको क्षेत्रमा छुट्टै पहिचान कायम गरेको सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा जनताको ढुकढुकी बनेको नवजीवन सहकारीको यो भव्य कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्न पाउँदा गर्वको महसुस गरेको छु । सहकारीका जन्मदाता, अभियन्ता र देशको आर्थिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थितिले यो कार्यक्रमलाई शोभायमान र अर्थपूर्ण बनाएको छ । 

नेपालको संविधान २०७२ ले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको छ । यसले सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित आम जनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्न अभिप्रेरित गरेको छ । 

सहकारी सहकार्य हो । यो समूह र त्यसभित्रका व्यक्तिहरुको उत्थानमा क्रियाशिल संस्था हफ र सहकारी एकताको अनुपम उदाहरण हो । समूहले व्यक्तिलाई उत्थान गर्नुपर्दछ र गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले दिएको छ । जुन हामी सम्पूर्ण सहकारीकर्मीको लागि गौरवको कुरा हो । 

पैतिस हजार सदस्यको आवद्धता, पाँच अर्बभन्दा बढी निक्षेप संकलन, चार अर्बभन्दा बढी कर्जा प्रवाहसहित देशका सहकारी मध्येकै एक अग्रणी र उत्कृष्ट सहकारीको रुपमा आज नवजीवन उभिएको छ । यो संस्था आज यो गौरवपूर्ण अवस्थामा आउनुमा म लगायत केही साथीहरुको सहकार्यको परिकल्पना, होस्टेमा हैँसे गर्ने महानुभावहरुको साथ र एउटा अवोध बालकको जीवनदानको घटनाको परिदृश्यसँग जोडिएको छ । सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बनेको बालकलाई हामी केही साथीहरु मिलेर अस्पताल र उपचारको पहलमा जुट्यौं ।

यो २०४८ सालको कुरा हो । हाम्रा सहकार्यले बालक निको भए, उनका बाबु भेटिए अनि आँखाभरी आँसु झार्दै ती बाबुले आफ्नो छोरालाई नयाँ जीवन दिएकोमा धन्यवाद दिए । एकताले सकारात्मक परिणाम ल्याउन सकिन्छ भन्ने कुरामा हामीलाई थप हौसला प्राप्त भयो र हामी एउटा यस्तै संस्थाको परिकल्पनामा पुग्यौं । नयाँ जीवन प्राप्त गरेको त्यो बालकको समग्र घटनालाई प्रेरणाको रुपमा लिदै संस्थाको नाम नवजीवन राख्न पुग्यौं ।

मानिसले सफलता देख्छन् र सफलतामा हातेमालो गर्छन् तर संघर्ष धेरैलाई थाहा हुन्न । एउटा बाँसको ‘मुना’ जमिनबाट निस्केर केही हप्तामै २०औं फिट अग्लो बाँस बन्न पुग्छ । तर त्यसको बिउ अर्थात् जरा पाँच वर्षसम्म जमिनमा माटोमुनि गडेको हुन्छ । त्यो पाँच वर्षको राप, ताप र प्रयत्नलाई नजरअन्दाज गरेर जमिन माथिको हर्लक्क बढेको बाँसको मात्र चर्चा गर्नु अन्याय हुन्छ जस्तो लाग्छ । साँच्चिकै नवजीवनको यो छवि स्थापना कालपूर्व र स्थापना सँगैका ठोस अभियानका परिणाम हुन् जस्तो लाग्छ ।

सहकारी संस्थाहरु आम जनताको सुखदुःखको साथी बनेका छन् । नवजीवन सहकारी संस्थाले सुदूरपश्चिम र लुम्बिनीका लाखौं जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरि जीवनस्तर उकास्न सफल भएको छ । नवजीवन परिवर्तनको संवाहक हो र रहिरहनुपर्दछ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित पारेको छैन ।

व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीले यो अभियानमा हिलो छ्याप्न खोजेको देखिएको छ । ती सिमित उदाहरण बाँकी सहकारीको लागि सिकाइ होस् र सहकारीको मर्यादा कायम रहोस् भन्ने हामी सबैको चाहना हो । नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन । त्यसैले केही छिटपुट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुनेछ । 

सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैंक सहकारीले सहकार्यमा परिचालन गरेको छ । त्यत्तिकै निश्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा भएको छ । यो खुशीको कुरा हो । सहकारीले वित्तीय साक्षरतामा अझै जोड दिएर आम समुदायलाई सहकारीमा जोड्नु पर्दछ । हामीले सबै कुराको बारेमा पढाउछौं तर पैसाको बारेमा केही सिकाउन्नौं । चाहिने पैसा सबैतिर तर त्यसैको बारेमा पढाई छैन । विद्यालय, विश्वविद्यालयका पाठ्यक्रममा वित्त सम्वन्धि विषयवस्तु अनिवार्य समावेश गरिनुपर्दछ । आर्थिक समृद्धि सकारात्मक सोंचाईले मात्र आउँदैन, सकारात्मक कार्यले आउँछ ।

आर्थिक र सहकारी जगतका विज्ञहरु यहाँ हुनुहुन्छ । यहाँ पोलिसी तहसम्म रहनुभएका महानुभावहरु हुनुहुन्छ । यहाँहरुको मार्गदर्शनले सहकारीमार्फत देश समृद्धिको मार्गमा बढ्ने कुरामा कुनै दुईमत छैन । आजको यो कार्यक्रम सहकारी क्षेत्रमा एउटा कोशेढुङ्गा सावित हुने विश्वास लिएको छु । 

(कैलालीको धनगढी स्थित नवजीवन सहकारी संस्थाले काठमाडौंमा आज आयोजना गरेको ‘सहकारी मर्म र चुनौती विषयक विचार गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रममा बागमती प्रदेश प्रमुख देवकोटाले राखेको मन्तव्य)
 

Advertisment

थप समाचार