Below Menu
Below Menu

सहकारी प्रादुर्भाव अध्ययन समिति गठन, भदौमा सहकारी दिवस मनाउने तयारी

सहकारी प्रादुर्भाव अध्ययन समिति गठन, भदौमा सहकारी दिवस मनाउने तयारी

काठमाडौं : बनेपा नगरपालिकाले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको छ। 

काभ्रेको बनेपामा २ हजार साल भदौ महिनामा सरकारी स्तरबाट सहकारी स्थापना गरिएको पुष्टी भएपछि पालिकाले त्यसलाई संस्थागत गर्दै इतिहासलाई संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार समेत गर्ने उद्देश्यले सहकारी प्रादुर्भाव अध्ययन समिति गठन गरेको हो ।

नगर प्रमुख शान्तिरत्न शाक्य संयोजक रहेको समितिमा उपप्रमुख विमला सापकोटा, जिल्ला सहकारी संघ अध्यक्ष, जिल्ला बचत संघ अध्यक्ष, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्षहरु सदस्य रहेका छन् । त्यस्तै समिति दिपकप्रसाद पौडेल, कुलचन्द्र अधिकारी, रामहरी केसी, मोतीराम तिमल्सिना, केशव थापा विज्ञ सदस्यका रुपमा रहेका छन् । समितिको सदस्य सचिवमा बनेपा नगरपालिका सहकारी शाखाका प्रमुख रहेका छन् ।

समितिको पहिलो बैठक बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको छ । बैठकले सहकारी प्रादुर्भाव सम्बन्धी सामाग्रीहरु संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै २०८२ भाद्र १ गतेदेखि सहकारी स्थापना दिवस बनाउने गरी तयारी गर्ने, सरकारी दस्तावेजहरुमा उल्लेख भएका तथ्यांकलाई कार्यान्वन गर्न पहल गर्ने निर्णय भएको छ ।

त्यस्तै समितिमा संघीय सांसदहरु र बनेपा नगरपालिकाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदलाई समेत सल्लाहकारमा मनोनयन गरी आवश्यक ब्यक्तिहरुलाई आमन्त्रित गर्दै बनेपामा स्थापना भएको सहकारी इतिहासलाई स्थापित गर्ने नगर प्रमुख शान्तिरत्न शाक्यले बताए।

वि.स. २००० सालमा नै बनेपाका समाजसेवी एवं प्रतिष्ठित व्यक्ति स्व. राजदास बादे श्रेष्ठको अगुवाईमा मे.ज. विजय शम्सेर जबरा र भिम बहादुर पाण्डेको सहयोगमा पूर्व १ नम्बर काभ्रेका कृषकहरुको जमीन साहुको बन्धकीबाट निखनी उनीहरुको अवस्था सुधार ल्याउन र कृषि उत्पादनमा वृद्धि गर्न बनेपामा ‘ल्याण्ड मोटगेज बैंक तथा को-अपरेटिभ सोसाइटी’ स्थापना भएको दाबी गरिएको छ।

सहकारीसम्बन्धी अध्ययन समितिले ‘त्यस बखतको नेपाल पुस्तक’ को भाग २ मा (१९८६–१९९७) सालभाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोकमा तत्कालीन सरकारले को–अपरेटिभ संस्था खोलेको उल्लेख गरेको छ ।

बनेपामा ती संस्थाहरू खोल्न पर्ने अनेकमध्ये ठोस कारण थियो–बनेपाका अतिलोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा ऋषिदेखि कुटिर उद्योगको केन्द्र, यातायातको सुविधा, पूर्वपहाडको ढोका जस्तो र बनेपालीहरूको औधोगिक मनोवृत्ति । राजदास बादे श्रेष्ठ बनेपामा लोकिप्रिय नेता र समाजसेवी मात्रै थिएनन् । लायन्ड भोर्गेज बैंक र को–अपरेटिभ सोसाइटीबाट त्यहाँका दुःखी जनताले उठाउन सक्ने फाइदा पनि उनले राम्रो मर्म बुझेका थिए ।

Advertisment