काठमाडौं : पछिल्लो समय शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको क्याप हटाइदिएसँगै यस्तो कर्जा बढ्न थालेको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो । हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ । यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो ।
त्यस्तै राष्ट्र बैंकले १२ करोडको शेयर धितो कर्जा क्याप सीमालाई परिमार्जन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसले गर्दा शेयर धितो कर्जा बढ्न पुगेको हो ।
नौं महिनामा एक खर्बमाथि ऋण लगानी
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म बैंकहरुबाट एक खर्ब २४ अर्ब १२ करोड २० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुले एक खर्ब एक ६० करोड ७ लाख, विकास बैंकहरुले १८ अर्ब २८ करोड र फाइनान्स कम्पनीहरुले चार अर्ब ७१ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् ।
गत आवको सोही अवधिको तुलनामा भने यस्तो कर्जा घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जामा ८६ अर्ब १८ करोड ५५ रुपैयाँ लगानी गरेका थिए ।
तर, गत असार मसान्तको तुलनामा बैंकहरुले थप ३४ अर्ब २ करोड ९० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन ३७.८ प्रतिशतले बढी हो । गत असारसम्म बैंकहरुबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
चैतसम्म शेयरधितो कर्जामा एक करोड रुपैयाँ माथिका कर्जा ८४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ प्रवा भएको छ भने ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको १४ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ प्रवाह भएको छ ।
त्यस्तै २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको १६ अर्ब ६४ करोड ११ लाख रुपैयाँ र २५ लाख रुपैयाँभन्दा मुनीको ७ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि एक करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
कुन महिनामा कति लगानी ?
राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा एक अर्ब ३५ करोड रुपैयाँ, भदौमा आठ अर्ब ३० करोड रुपैयाँ, असोजमा छ अर्ब सात करोड ८० लाख रुपैयाँ, र कात्तिकमा एक अर्ब ९४ करोड ३० लाख रुपैयाँले यस्तो कर्जा प्रवाह बढेको थियो । तर, मंसिरमा त्यो १७ करोड ७० लाख रुपैयाँमा सिमित भएको थियो ।
गत पुसमा भने बैंकहरुबाट पाँच अर्ब ८३ करोड २० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको थियो । यसैगरी गत माघमा एक अर्ब ३३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार फागुनमा भने तीन अर्ब ३९ करोड १० लाख रुपैयाँ र चैतमा पाँच अर्ब ६२ करोड १० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह बढेको तथ्यांकमा उल्लेख छ ।
कुन बैंकले कति गरे लगानी ?
चैत मसान्तसम्म शेयर धितो कर्जामा सर्वाधिक लगानी गर्नेमा नबिल बैंक रहेको छ । नबिलले यस अवधिमा १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ ।
त्यस्तै चैत मसान्तसम्म नेपाल बैंकले ७ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ८८ करोड ४४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले तीन अर्ब २२ करोड ८९ लाख रुपैयाँ शेयर धितोमा लगानी गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी भने शुन्य रहेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा हिमालयन बैंकले शेयर मार्जिन कर्जामा २ अर्ब ११ करोड ६१ लाख, नेपाल एसबिआईले ६१ करोड ३९ लाख, एभरेष्टले २ अर्ब ७७ करोड ५३ लाख, एनआईसी एशियाले २ अर्ब ४३ करोड १६ लाख, माछापुच्छ्रे बैंकले एक अर्ब ८१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै चालु आवको नौं महिनामा कुमारी बैंकले शेयर धितो कर्जामा नौं अर्ब १३ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ भने लक्ष्मी सनराइजले ५ अर्ब २१ करोड ३८ लाख र सिद्धार्थ बैंकले ८ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म कृषि विकास बैंकले तीन अर्ब ३ करोड ७६ लाख, ग्लोबल आईएमईले बैंकले ११ अर्ब ६५ करोड ५७ लाख, सिटिजन बैंकले छ अर्ब ८५ करोड एक लाख र प्राइम कमर्सियलले सात अर्ब ७८ करोड ७१ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ ।
त्यस्तै एनएमबीले दुई अर्ब ९ करोड ४१ लाख, प्रभु बैंकले चार अर्ब ६५ करोड २१ लाख र सानिमा बैंकले दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ शेयर धितो कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
Advertisment