काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १३.११ प्रतिशत र निर्यात ७२.७१ प्रतिशतले बढेको छ । दश महिनामा नेपालले साढे १२ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेको छ । बैशाख मसातसम्म नेपालले १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा १४ खर्ब २९ अर्ब ५३करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
निर्यात ७२ प्रतिशतले बढ्यो
विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । बैशाख मसान्तसम्म साढे १४ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने सवा दुई खर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।
विभागका अनुसार यस अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यस अवधिमा दुई खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
१२८ देशसँगको व्यापार घाटामा
मुलुकले बैशाख मसान्तसम्म १६३ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १२८ देशसँगको व्यापार घाटामा रहेको छ भने ३५ देशसँगको व्यापार नाफामा रहेको छ ।
नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग सात खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
भारतबाट नेपालले यस अवधिमा आठ खर्ब ८० अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने एक खर्ब ७६ अर्ब ६ करोड ३१ लाख रुपैयाँ बरारबरको सामान निर्यात गरेको छ ।
त्यस्तै चीनसँगको वैदेशिक व्यापारमा नेपालले २ खर्ब ७४ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । दश महिनामा नेपालले २ खर्ब ७७ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ अर्ब ३९ करोड ९ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
नेपालले यस अवधिमा अर्जेन्टिनासँग ७२ अर्ब १३ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ भने अष्ट्रेलियासँग १५ अर्ब ६३ करोड, क्यानडासँग छ अर्ब ८९ करोड, फ्रान्ससँग सात अर्ब ४० करोड र इन्डोनेसियासँग ११ अर्ब २५ कारोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
त्यस्तै मलेसियासँगको व्यापारमा नेपालले ११ अर्ब ३० करोड रुपैयाँ, कतारसँग ५ अर्ब ४६ करोड, थाइल्याण्डसँग ११ अर्ब ३२ करोड, युक्रेनसँग २२ अर्ब ९० करोड, युनाइेड अरब इमिरेट्स (युएई) सँग २१ अर्ब ८२ करोड र अमेरिकासँगको वैदेशिक व्यापारमा सात अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
Advertisment