काठमाडौं : अध्यक्ष नेम्बर अफ कर्मस कमलेश कुमार अग्रवालले विसम परिस्थितिमा आएको आगामी आर्थिक बर्षको बजेट विकासमुख्य र केही महत्वकांक्षी भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आगामी आवको बजेट लगानी प्रवद्र्धन गर्ने खालको आएको उनले बताए । आइटी र प्रविधिलाई ध्यानमा राखिएकोमा उनले खुसी व्यक्त गरे ।
तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले विदेशीने युवाको संख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।
यस्तै, पर्यटन क्षेत्रका लागि पनि बजेट राम्रो देखिएको उनले बताए । त्यसमा हवाइ टिकटमा लाग्दै आएको कर हटाएको भए झन राम्रो हुने बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
यस्तै, उनले चालु कर्जा उपलब्ध गरेकाले अर्थतन्त्रमा सुधार हुने विश्वास लिइएको बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार नदि जन्य उत्खननका विषयहरु पनि आएकोले यसमा निकै सहज हुनुपर्ने उनको भनाइ छ ।
भारततर्फ निर्यातमा पनि निकै समस्या भइरहेको बताउँदै उनले यसमा पनि सुधार गर्न आवश्यक रहेको बताए । यसैगरि राजश्वको स्रोतमा ध्यान दिन आवश्यक रहेका पनि उनले बताए ।
ठूला राष्ट्रबाट आउने अनुदानहरुमा कमी आउने देखिदा अर्थतन्त्रमा असर गर्ने पनि उनले बताए । यस्तै उनले व्यवसायमा संकुचन भएको अवस्थामा पुनकर्जाका व्यवस्था गर्न आवश्यक रहेको बताउँदै उनले यसबारे मोद्रिक नीतिबाट सम्बोधन हुनुपर्ने बताए ।
Advertisment