बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले “सबै जुटौं, सदस्य भेटौं” भन्ने मूल नारासहित सञ्चालन गरेको २१ दिने अभियानको उपलब्धि सार्वजनिक गर्दै सम्पन्न गरेको छ ।
संस्थाले वित्तीय तथा प्रविधि सचेतना र्यालीसहित कुश्मा बजार परिक्रमा गरी उक्त अभियानको औपचारिक रूपमा समापन गरेको हो । संस्थाका समिति, उपसमिति, कार्यदल, गाउँटोल समन्वय उपसमिति, कर्मचारी र सेयर सदस्य गरी ४ सय भन्दा बढीको उपस्थितीमा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले २१ दिने अभियानका क्रममा संस्थाले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका थिए।
अध्यक्ष शर्माका अनुसार अभियान अवधिमा ३५९ जना नयाँ सदस्य थप भएका छन् । त्यस्तै बाल बचतकर्ता २३९ जना थप भएका छन् । यसै अवधिमा सेयर पुँजी ११ लाख ४७ हजार ३ सय रुपैयाँ, बचत १ करोड १६ लाख ९४ हजार १ सय ७ रुपैयाँ, ऋण लगानी ४ करोड ४२ लाख १७ हजार ६ सय ५० रुपैयाँले वृद्धि भएको अध्यक्ष शर्माले बताए।

त्यसैगरी २९९ जना निस्क्रिय सदस्यलाई पुनः सक्रिय भएका छन् । ४४९ जना भुक्तान नदिएका ऋणी सदस्यहरूसँग प्रत्यक्ष भेटघाट गरी ऋण असुली प्रक्रिया अगाडि बढाइएको छ । डिजिटल सेवा पहुँच विस्तारको क्रममा ३५० जना सदस्यहरूलाई मोबाइल तथा डिजिटल सेवामा समावेश गराइएको छ ।
साथै, वित्तीय साक्षरता अभिवृद्धिका लागि समुदायस्तरमा ३८ वटा कार्यक्रम सञ्चालन गरिएका थिए । जसबाट १,३६० जना सहभागी लाभान्वित भएका छन् । यस्तै, विद्यालयस्तरमा १७ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भई १,२१३ जना विद्यार्थीलाई वित्तीय साक्षरता दिइएको छ ।
अभियान अन्तर्गत ९२ वटा गाउँ टोल समन्वय समिति गठन गर्नुका साथै ६,९०० जना सदस्य तथा गैर-सदस्यहरूसँग घरमै पुगेर प्रत्यक्ष सम्पर्क कायम गरेको अध्यक्ष शर्माले बताए। साथै, सम्भावित जोखिम व्यवस्थापनका लागि २५ वटा विपद् व्यवस्थापन कार्यदल पनि गठन गरिएको उनको भनाई छ।
अध्यक्ष पौडेलले अभियानको समग्र उद्देश्य सहकारी सेवा विस्तार, सदस्यसँगको प्रत्यक्ष सम्बन्ध सुदृढीकरण, वित्तीय पहुँचमा वृद्धि, विद्यार्थि तथा युवाहरुमा वित्तीय र प्रविधि सशक्तीकरण भएको बताए।
२०६७ सालमा बागलुङ बजारमा स्थापना भएको सिवाईसी साकोसले हाल धवलागिरी क्षेत्रका बागलुङ, पर्वत र म्याग्दीमा २५ वटा सदस्य सेवा केन्द्रमार्फत वित्तीय तथा गैरवित्तीय सेवाहरु सञ्चालन गरिरहेको छ ।
संस्थामा २६ हजार ८ सय ५८ सेयर सदस्य, ६ हजार ४ सय ६७ बाल बचतकर्ता, ३९ करोड ४२ लाख सेयर पुँजी, २० करोड ४३ लाग संस्थागत कोष, १ अर्व ५५ करोड बचत, १ अर्व ३६ करोड लगानी, १०५ जना कर्मचारी र २ अर्व ३४ करोडको कुल सम्पत्ती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले जानकारी दिए।
Advertisment