Below Menu
Below Menu

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब बढीकाे पेट्रोलियम पदार्थ आयात, साढे ४३ करोडले बढ्याे राजस्व

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब बढीकाे पेट्रोलियम पदार्थ आयात, साढे ४३ करोडले बढ्याे राजस्व

भद्रपुर : चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् रु ४३ करोड ७४ लाख ४७ हजारले बढेको उनले बताए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु सात अर्ब ३४ करोड ११ लाख मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, रु पाँच अर्ब ५३ करोड ९६ लाख मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ ।

चालु आवको १० महिनामा रु दुई अर्ब ३४ करोड मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, रु ५५ करोड ९४ लाख मूल्य पर्ने छ हजार ६० किलोलिटर एटिएफ र रु १९ करोड ६९ लाख मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।  

Advertisment

थप समाचार