काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा लगानीकर्ताको सम्पत्ति झण्डै १२ अर्ब रुपैयाँले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा यस्तो देखिएको हो ।
चालु आवको वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । गत आवको सोही अवधिमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रहेको थियो ।
गत वर्षको सोही अवधिमा १९९८.८९ रहेको नेप्से परिसूचक चालु आवको सोही अवधिमा आइपुग्दा ६२१.३८ अंकले बढेर २६२०.२७ कायम भएको छ ।
यस अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । गत वर्ष सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।
नेप्सेमा सूचीकृत ८ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ६१अर्ब ३९ करोड रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा २१ अर्ब ८ करोड बराबरको बोनस शेयर, २० अर्ब ३८ करोड बराबरको साधारण शेयर, ११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, एक अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल ५८ अर्ब ४३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १९ करोड बराबरको हकप्रद शेयर, ११ अर्ब ८० करोड बराबरको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोड बराबरको डिबेन्चर र २ अर्ब २४ करोड बराबरको साधारण शेयर गरी कुल ३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
Advertisment