काठमाडौं : सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सहकारी नेतृत्वले आदर्श र अनुकरणीय नेतृत्व प्रदर्शन गर्न नसकेको बताएका छन् । सहकारी क्षेत्रमा राजनीति प्रभाव उच्च रहेको बताउँदै सहकारी संघ/संस्था आफ्नो प्रमुख उद्देश्यबाट विमुख भएको बताए ।
आइतबार सहकारी विभागले आयोजना गरेको ‘सहकारी सम्बन्धी समसामयिक विषयमा राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय संघ लगायत सरोकारवालाहरुसँगको अन्तरक्रिया’ कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रजिष्ट्रार ढुंगानाले सहकारी क्षेत्रमा व्यवस्थापकीय भन्दा राजनीतिक प्रभाव उच्च हुँदा समस्या सिर्जना भएको बताए ।
सुशासन प्रवद्र्धनमा सबै निकायहरु आ-आफ्नो भूमिकामा चुकेको समेत बताए । उनले साधारणसभा समेत गर्न नसक्ने र प्रतिवेदन पनि नियमित नभएका विषयगत केन्द्रीय संघ पनि भएको बताउँदै त्यस्ता संघलाई पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको बताए । संघको संख्यात्मक उपस्थिति अधिक भए पनि गुणात्मकता माथि प्रश्न उठेको बताउँदै रजिष्ट्रार ढुंगानाले सबै संघहरुले गठनको लागि आवश्यक कानूनी आधार पुरा नगरेको समेत स्पष्ट पारे ।

मुलुक ग्रे–लिष्टमा पर्नुको एउटा महत्वपूर्ण कारण सहकारी क्षेत्र पनि रहेको बताउँदै अब सबैको सहकार्य र समन्वयले अगाडि बढ्नु पर्ने धारणा राखे । ‘सहकारीमा अपारदर्शी कारोबार छ । नियमित रिपोर्टिङ, ट्र्याकिङ, जरिवानाको अभ्यास तथा वास्तविक धनी पहिचान नहुँदा सहकारी क्षेत्रमा समस्या देखा पर्यो । सोही कारण पनि देश ग्रे लिष्टमा पर्यो,’ उनले भने, ‘अब सबै सरोकारवालाले सहकार्य गरेर समस्याको समाधान गर्नुपर्छ ।’
८० प्रतिशत सहकारी स्थानीय तहको नियमनभित्र पर्ने भएकोले ती स्थानीय तहमा आवश्यक पूर्वाधार तथा जनशक्ति नहुँदा पनि नियमनमा समस्या भएको र सहकारीमा बदमासी बढेको धारणा राखे । उनले सहकारीमा कर्जा सूचना केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र ऋण असुली न्यायाधीकरण आवश्यक नै रहेको सुनाए ।
‘सहकारीपन र स्वनियमन जति कमजोर हुन्छ, नियमनकारी निकाय सहकारी संस्थाको नजिक हुँदै जान्छ’, उनले भने, ‘नियमन गर्ने निकाय जति नजिक हुँदै जान्छ, सहकारी संस्थाको स्वायत्तता उति खुम्चदै जान्छ ।’ त्यस्तै सहकारिता, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली सहितको स्वनियमन र स्वशासनमा सुशासनले सहकारी आन्दोलन दिगो र प्रभावकारी बन्ने बताए ।
Advertisment