काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असार २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लाभांश पारित गर्न इन्स्योरेन्सले असार ३० गते, सोमबार, १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा होटल ईच्छा, सिमरा, बारामा दिउँसो १ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।