Below Menu
Below Menu

एघार महिनामा नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत ! 

एघार महिनामा नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत ! 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको शेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस सेयर, २२ अर्ब ४० करोड रुपैयाँ बराबरको साधारण सेयर, रु.१२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।  

गत वर्षको जेठ मसान्तमा २११२.३० रहेको नेप्सेसूचकाङ्क चालु आवको जेठ मसान्तमा २६५५.३९ कायम भएको छ । २०८२ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा बजार पुँजीकरण रु.३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो । 

२०८२ जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् ।

२०८१ जेठमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० रहेको थियो । टद्द। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य रु.८६७ अर्ब २९ करोड रहेको छ । 
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, रु.१३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ४२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल रु.३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment

थप समाचार