काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । गत वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १३.२५ प्रतिशत र निर्यात ८१.८० प्रतिशतले बढेको छ । एक वर्षमा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । अघिल्लो वर्ष नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
निर्यात ८१ प्रतिशतले बढ्यो
असार मसान्तसम्म साढे दुई खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । विभागका अनुसार यस अवधिमा यस अवधिमा दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
बजेट खर्च भन्दा बढीको व्यापार घाटा
गत आर्थिक वर्षमा आयात र निर्यातमा ऐतिहासिक रेकर्ड कायम भएपनि आयात निर्यातको खाडल भने कम हुन सकेको छैन । यस अवधिमा नेपालले वार्षिक बजेट खर्च भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष मुलुकले १५ खर्ब २७ अर्ब नौं करोड २५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
गत आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको सरकारले असार मसान्तसम्म मुस्किलले १५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । यस अवधिमा सरकारको बजेट खर्च भन्दा व्यापार घाटा चार खर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । असार मसातसम्म नेपालले २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
१३३ देशसँगको व्यापार घाटामा
मुलुकले गत वर्ष मसान्तसम्म १६४ देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा १३३ देशसँगको व्यापार घाटामा रहेको छ भने ३१ देशसँगको व्यापार नाफामा रहेको छ ।
नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
भारतबाट नेपालले यस अवधिमा १० खर्ब ७१ अर्ब १९ करोड ८९ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयात गरेको छ भने दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बरारबरको सामान निर्यात गरेको छ ।
त्यस्तै चीनसँगको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ३८ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । एक वर्षमा नेपालले चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा २ अर्ब ३३ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।
नेपालले यस अवधिमा अर्जेन्टिनासँग ९९ अर्ब २९ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ भने अष्ट्रेलियासँग १७ अर्ब ९४ करोड, क्यानडासँग सात अर्ब ७९ करोड, फ्रान्ससँग सात अर्ब ४० करोड, ब्राजिलसँग ११ अर्ब ८० करोड र इन्डोनेसियासँग ८४ अर्ब ६५ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।
त्यस्तै इरानसँगको व्यापारमा आठ अर्ब ४६ करोड, मलेसियासँगको व्यापारमा नेपालले १३ अर्ब ८८ करोड रुपैयाँ, कतारसँग नौं अर्ब दुई करोड, थाइल्याण्डसँग १४ अर्ब ७५ करोड, युक्रेनसँग २४ अर्ब ९० करोड, युनाइेड अरब इमिरेट्स (युएई) सँग २२ अर्ब ३१ करोड र अमेरिकासँगको वैदेशिक व्यापारमा सात अर्ब ६४ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
Advertisment