काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षमा मात्रै सात हजार बढी इभि गाडी आयात भएका छन् ।
भन्सार विभाग तथ्यांकअनुसार असार मसान्तसम्म १३ हजार ५६९ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । यस अवधिमा सरकारले ३१ अर्ब ७५ करोड ३६ लाख ३० हजार रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात गरेको हो ।
उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा १५.९६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरको ११ हजार ७०१ युनिट विद्युतीय गाडी आयात गरेको थियो ।
विद्युतीय गाडीको आयातसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष इभि गाडीको आयातबाट १३ अर्ब २८ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने गत वर्ष आयातित गाडीबाट १९ अर्ब ७० करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन ४८.२८ प्रतिशतले बढी हो ।
नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा १८ अर्ब ६२ करोड आठ लाख मूल्यका सात हजार ४३१ गाडी भित्रिएका छन् ।
सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।
असार मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका आठ अर्ब ३१ करोड १४ लाख मूल्य बराबरका चार हजार ७३२ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटसम्मका चार अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको एक हजार ३६२ युनिट गाडी आयात भएका छन् ।
विभागका अनुसार यस अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका २७ करोड ८४ लाख रुपैयाँ बराबरका ४२ युनिट गाडी आयात भएका छन् भने ३०० किलोवाटमाथिका ८३ लाख २३ हजार रुपैयाँ बराबरको दुई युनिट गाडी आयात भएका छन् ।
Advertisment