भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ राधेराधेमा गत असार छ गतेदेखि सुरु भएको ‘फिस टनेल एक्स्पो २०८२’ को समापन भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाद्वारा राधेराधेस्थित रोयल थाई हस्पिटालिटीको खुला क्षेत्रलाई उपयोग गरी सञ्चालन गरिएको एक्स्पो शनिबार साउन १० गते समापन भएको हो ।
एक्स्पोको मुख्य आकर्षणका रूपमा ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल राखिएको थियो भने अन्य सुनामी राइड, रोटे पिङ, कोलम्बस, ड्रागनलगायतका आकर्षक उपकरणहरू प्रदर्शनमा राखिएको थियो ।
एक्स्पोलाई आकर्षक बनाउन कुनै कसुर बाँकी नराख्दापनि अपेक्षा अनुसार अवलोकनकर्ताको उपस्थिति हुन नसकेको आयोजकको गुनासो छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा एक्सपो आयोजनाका संयोजक सन्दिप महतले आफूहरुले एक लाख अवलोकनकर्ताको सहभागी रहने लक्ष्य राखेकोमा अफ सिजनको कारण ५० हजार भन्दा माथिले मात्र अवलोकन गरेको जानकारी दिए ।
उनले भने,‘ हामीले एक्स्पोबाट एक लाखको लक्ष्य राखेका थियौं । तर यो अफ सिजनको बेला भएर ५० हजार भन्दा बढि मान्छे आएका छन् । ठिक छ ,हामी मध्यम वर्गमा छौ । यो वर्षाको बेलामा धेरै उत्साह पनि छैन । निराश पनि छैनौं ठिकै अवस्थामा छ ।’
उनका अनुसार ४०–५० लाखको लगानीमा एक्सपोको आयोजना गरिएको थियो । तर, एक्सोबाट नाफामा जाने त कुरै छोडौं लगानी उठाउन पनि धौ–धौ भएको छ । समापनको दिनसम्म जसोतसो लगानी बराबरको आर्थिक संकलन हुने संयोजक महतले विश्वास व्यक्त गरे ।
उनले भने,‘४० देखि ४५ लाखसम्मको लगानी छ । त्यो लगानी उठ्छ भन्ने आजसम्मको डाटाले भन्छ । आजसम्म त हामी माइनस मै छौं, तर ४०–४५ लाखको अन्तरमा उठ्ने आशा छ ।’ एक्यूरियमसँगै १ सय ६० भन्दा बढी प्रजातीका माछाहरु एक्सपोमा राखिएको थियो । जुन नेपालमै पहिलो पटक हो । विशेषगरि बच्चाहरुको लागि लक्षित गरेर आयोजना गरिएको उक्त एक्सपोको उद्देश्य सामुदायिक जीवनको परिचय दिनु रहेको छ ।
उनले भने,‘यो चाँहि विशेषगरि बच्चाहरुको लागि छ । एक्यूरियमसँगै १ सय ६० भन्दा बढी प्रजातीका माछाहरु हामीसँग छन् । यो नेपालमै पहिलो पटक हो । तर एक्सपोको हिसाबले जावलाखेल पछिको दोस्रो हो । भक्तपुरको हिसाबमा पहिलो हो । शैक्षिक एक्सपो जस्तो छ किनकि बच्चाहरुलाई सामुदायिक जीवनको एउटा परिचय दिन खोजेको हो ।’
प्रदर्शनमा नेपाली पाँच लाख रुपैयाँ बराबरको लगभग सात फिटसम्मको माछा राखिएको थियो । तर समयको कारण त्यसको मृत्यु भएकामा दुःख व्यक्त गर्दै उनले भने,‘हामीसँग भएको एउटा ठूलो माछा थियो त्यो नेपाली पाँच लाख रुपैंयाँ पर्दथ्यो तर त्यो मर्यो । लगभग सात फिटसम्मको थियो । अहिले हामीले सँग दुई सय रुपैंयाँदेखि दुई लाखसम्मको माछा पनि छन ।’
सुरुमा छिर्दा साधारण घरमै पाल्ने माछाको एक्यूरियम जस्तो लागे पनि केही अगाडि पुगेपछि टनेलमा पुगिन्छ । जुन एकदमै सुन्दर र आकर्षक छ । काठमाडांै, भक्तपुर ललितपुर र काभ्रेको पनि धेरै मानिसहरुको उपस्थिति रहेको बताउँदै महतले प्रतिक्रिया पनि धेरै राम्रो आएको सुनाए ।
उनले भने,‘काठमाडांै, भक्तपुर, ललितपुर र काभ्रेको पनि धेरै जना आइरहनु भएको छ । एक्सपोबारे बुझ्न पनि आइरहनु भएको छ । प्रतिक्रिया राम्रै रहेको छ । सुरुमा प्रवेश गर्दा एउटा एक्यूरियम मात्र हो कि जस्तो लाग्नसक्छ । तर अन्तिममा टनेलमा पुगेपछि साँच्चै नै फिस टनेल एक्स्पो नै रहेछ भन्ने महशुस अवलोकनकर्तालाई गराउँछ । यस कारण पनि प्रतिक्रिया राम्रो आएको छ ।’
उनका अनुसार नेपालमै पहिलो पटक सुनामी भाइरल पिङ समेत प्रदर्शनमा राखिएको थियो । जसको टिकट प्रतिव्यक्ति दुई सय रुपैंया राखिएको थियो भने फिस टनेलमा पाँच वर्षसम्मको बच्चालाई निःशुल्क र त्यो माथिका उमेर समूहलाई १५० रुपैयाँको टिकट राखिएको थियो ।
यस्तै अवलोकनकर्ता बोसन कार्कीले यस्तोखाले फिस एक्स्पोहरुबाट सबै उमेर समूहका विद्यार्थीहरु र बच्चाहरुलाई फिस सम्बन्धी ज्ञान दिन सकिने भएकाले एकदमै राम्रो लागेको प्रतिक्रिया दिए । एक्सपोमा अवलोकनको लागि राम्रो व्यवस्थापन गरिएको पनि उनले जानकारी दिए ।
यस्तै शिशिर ढुंगानाले पनि एक्सपोमा फिस टनेलको अवलोकन गर्न पाउँदा खुसी लागेको बताए । टिकट पनि सर्व शुलभ रहेको बताउँदै पाँच वर्ष भन्दा तलको बच्चालाई निःशुल्क प्रवेशको व्यवस्था गरेकामा राम्रो लागेको बताए । त्यस्तै अर्का अवलोकनकर्ता श्याम महर्जनले बच्चाहरु मात्रै नभई ठूला मानिसहरुले पनि एक्सपोबाट मनोरञ्जन लिन सकिने बताए ।
एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हुने बताइएको छ । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन्। टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको आयोजकले जनाएको छ ।
फिस टनेलभित्र करिब १६० प्रजातिका माछाहरू राखिएका छन्। तीमध्ये केही दुर्लभ तथा रंगीन समुद्री जातका माछा नेपालमा पहिलोपटक सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिने आयोजकको दाबी छ । यस्तो खालको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताए ।
यसका अतिरिक्त, नेपालमै पहिलोपटक परीक्षणमा ल्याइएको ‘सुनामी राइड’ समेत एक्स्पोको अर्को आकर्षण रहेको आयोजकको भनाइ छ । यो राइडमा समुद्री लहरजस्तै हल्लिने अनुभव प्रदान गरिन्छ, जसमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन्। राइडको डिजाईन पूर्णतः सुरक्षा मापदण्डअनुसार गरिएको आयोजकले जनाएको छ ।]
एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङजस्तै रोटे पिङ, कोलम्बस, ड्रागन राइड आदि पनि राखिनेछन् । यसका साथै खानपान, गेम जोन र फोटो स्पटसमेतको व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। प्रवेश टिकट निःशुल्क र अन्य गतिविधिको भने शुल्क लाग्ने आयोजकले जनाएको छ ।
स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । नेपाल न्यूज बैंक
Advertisment