काठमाडौं : बनेपा-६, काभ्रेमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०८१/८२ मा आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्यहरुलाई ३४ लाख ७० हजार १ सय ७६ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाले आर्थिक सुरक्षा कार्यक्रम अन्तर्गत सदस्य र सदस्यको परिवालाई मृत्यु राहत, जटिल रोग उपचार सहयोग, सुत्केरी उपचार सहयोग, सुत्केरी भेटघाट, नवदुलही भेटघाट, प्राकृतिक प्रकोप राहत सहयोग गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीले जानकारी दिए।
यस आ.व.मा संस्थाले मृत्यु राहत वापत ५३ जना सदस्यको परिवारलाई १४ लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै जटिल रोग उपचार सहयोग ४७ जनालाई ८ लाख ९८ हजार ३ सय ३३ रुपैयाँ, सुत्केरी उपचार सहयोग १०६ जनालाई ५ लाख १८ हजार ३ सय ५३ रुपैयाँ, सुत्केरी भेटघाट २३० जनालाई २ लाख ३० हजार, नवदुलही भेटघाट ११ जनालाई ११ हजार रुपैयाँ र प्राकृतिक प्रकोप राहत ३० जनालाई ४ लाख १२ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
संस्थाले वित्तीय कारोबारसँगै सदस्य सेवा र सामुदायिक सेवामा आफूलाई अब्बल सावित गर्दै लगेको छ । सदस्यहरुलाई शिपमुलक तालिम, रक्तदान, वित्तीय तथा सहकारी शिक्षा, समुदायमा विभिन्न सहयोग, व्यवसाय विकास सेवा सम्बन्धी सहजीकरण कार्यक्रम, उद्घोषण तालिम, ज्येष्ठ सदस्य तीर्थाटन कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, सदस्य शिक्षा शिविर तथा विस्तारित मञ्च लगायतका कार्यक्रमहरु गर्दै आएको छ।
२०८२ असार मसान्तसम्म संस्थाको सदस्य संख्या १९ हजार ५ सय ७३ रहेको छ । संस्थामा बाल बचतकर्ताको संख्या ८ हजार २ सय ३२ जना रहेको छ ।
१७ करोड २१ लाख सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १६ करोड २६ लाख रहेको छ । संस्थाको संस्थागत पुँजी १७ करोड ३३ लाख रहेको छ । बचत १ अर्ब ७२ करोड १७ लाख रहेको छ भने लगानी १ अर्ब ३४ करोड ४९ लाख रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब १८ करोड ३१ लाख रहेको छ ।
Advertisment