काठमाडौं : देशभरका सहकारी संघ संस्थाहरुलाई वित्तीय तथा गैर-वित्तीय सेवा प्रदान गर्दै आएको राष्ट्रिय सहकारी बैंक लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ ।
२०६० साल असार २० गते स्थापना भई २०६१ साउन १९ गतेदेखि बैंकले कारोबार सुभारम्भ गरेको थियो । २३औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अवसरमा प्रतिबद्धता जारी गर्दै बैंकले सम्पूर्ण सदस्य संघ÷संस्था, नियामक निकाय, सरोकारवाला तथा शुभेच्छुक सबै प्रति हार्दिक आभार प्रकट गरेको छ ।
बैंकले भनेको छ, ‘विगतका अवधिमा सहकारी अभ्यासमा देखिएका सैद्धान्तिक विचलन, नियामकीय कमजोरी र कोभिड १९ पछि को राष्ट्रिय/अन्तर्राष्ट्रिय वित्तीय चुनौतीहरूका बीच पनि बैंकले सदस्य केन्द्रित सेवा, विवेकपूर्ण निर्णय र असल अभ्यासका माध्यमबाट संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको छ । केही चुनौतीहरू अझै बाँकी भएता पनि बैंकको अवस्था अब दिगो, सक्षम र स्थायित्वतर्फ रूपान्तरण भइरहेकोले बैंकको भविष्य सकारात्मक रहेको सबैमा विश्वास दिलाउन चाहन्छौं ।’
शेयर सदस्य सहकारी संघ/संस्थाहरूको बैंकमा भएको लगानीप्रति उच्च सम्मान प्रकट गर्दै बैंकले निकट भविष्यमा नै प्रतिफल प्रदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
दीर्घकालीन दृष्टिकोणलाई आत्मसाथ गर्दै सदस्य केन्द्रित सेवा प्रणालीलाई संस्थागत गर्ने दिशामा बैंक अग्रसर भएको बताएको छ । विगतका अनुभवलाई आधार बनाई सहकारी मूल्य र नैतिकताको पालना गर्दै दिगो सहकारी प्रणाली निर्माणमा निरन्तर प्रतिबद्ध रहने अठोट व्यक्त गरेको छ ।
प्रविधि विस्तार, उद्यमशीलता प्रवद्र्धन, वित्तीय पहुँच विस्तार, वातावरणीय उत्तरदायित्व र सहकारी अभियानको सुदृढीकरणमा निरन्तर क्रियाशील रहँदै पारदर्शी र व्यावसायिक सेवा प्रवाहमार्फत बैंकको भूमिका अझ बढी प्रभावकारी बनाउने हाम्रो दृढ संकल्प रहेको जनाएको छ।
असार मसान्त सम्ममा बैंकमा १६ हजार ४ सय २६ सहकारी आवद्ध छन् । २ अर्ब ८९ करोड सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४७ करोड रहेको छ । कुल बचत ४७ अर्ब ५ करोड र लगानी १९ अर्ब २४ करोड लगानी रहेको छ । बैंकको कुल सम्पत्ति ५७ अर्ब ९८ करोड रहेको छ।
Advertisment