Below Menu
Below Menu

साढे एक खर्बको आयात हुँदा ९५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा सवा एक खर्ब ! 

साढे एक खर्बको आयात हुँदा ९५ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा सवा एक खर्ब ! 

काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको पहिलो साउन मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले बढेको छ । एक नेपालले सवा एक खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा २.५५ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब १६ अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार १८.७५ प्रतिशतले बढेको छ । साउन मसातसम्म नेपालले एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

निर्यात ९५.७५ प्रतिशतले बढ्यो

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको छ । साउन मसान्तसम्म झण्डै साढे एक खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने करिब २४ अर्ब वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
 

Advertisment

थप समाचार